राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा शिवराज र जयरानी उत्कृष्ट खेलाडी

राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा शिवराज र जयरानी उत्कृष्ट खेलाडी


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाल आर्मी ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।

नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपीएफ क्लब नाै स्वर्ण, ६ रजत आठ कांस्यसाथ दोस्राे भयो । तेस्राे स्थानको बाग्मती प्रदेशले तीन स्वर्ण, दुई रजत र ६ कांस्य हात पार्‍यो । ३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी दुई स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो । 

प्रहरीले तीन रजत र चार कांस्य पनि हासिल गर्‍यो । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे । प्रतियोगिताको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित भए । शिवराजले तीन स्वर्ण र एक रजत जिते । जयरानीले दुई कीर्तिमानीसहित चार स्वर्ण कब्जा  गरिन्।

जयरानीको नाममा थप एक रजत पनि रह्यो । जयरानीले एक सय र चार सय मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन् । प्रतियोगितामा कुल तीन राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान आर्मीका जीवन थारुले पुरुष एक सय १० मिटर हर्डल्समा बनाएका थिए । जीवनले एक कीर्तिमानीसहित दुई स्वर्ण र उत्तिनै रजत हात पारे । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि पाँच हजार नगद पुरस्कार प्रदान गरियो ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा दुई सय ४० खेलाडीको सहभागिता रहेको आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् ।