करका दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो, राजीनामा दिन्न: अर्थमन्त्री शर्मा

करका दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो, राजीनामा दिन्न: अर्थमन्त्री शर्मा


ग्लोब नेपाल
648
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने प्रष्ट पारेका छन् ।

सोमबार बजेटमाथिको राष्ट्रिय सभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री शर्माले कसैले राजीनामा माग्दैमा आफूले नदिने उनले बताए । अर्थमन्त्री शर्माले भने, ‘बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यहीं गर्नुपर्छ भन्ने होइन । सही र गलत भोलि इतिहासले पुष्टि गर्नेछ, मैले गरेका निर्णयप्रति म जवाफदेही छु।’

उनले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको पनि बताए । मन्त्री शर्माले भने ‘करका दर बढाउँदा देश र जनतालाई हित गर्‍यो कि गरेन, उद्योगलाई कस्तो असर पर्‍यो भन्ने मुख्य हो । अहिलेजसरी बढाउनै पाइँदैन भन्ने होइन । करको दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो ।’

सबै वर्गको सुझावका आधारमा बजेट प्रस्तुत गरिएको उनको दावी छ । बजेटमा कृषि क्षेत्रको रुपान्तरण गर्ने विषय समेटिएको उनले बताए ।

चालु आर्थिक वर्षमा हालसम्म ३ खर्ब ५८ अर्बको खाद्यान्न आयात भएको बताउँदै उनले यसलाई प्रतिस्थापन गर्नेगरी बजेटमा विभिन्न उद्योगका लागि कच्चा पदार्थमा छुट दिइएको बताए । त्यस्तै बिजुली गाडीका सन्दर्भमा उनले महँगा गाडीमा सञ्चिति डलर बढी जाने भएकाले केही कर बढाइएको बताए । उनले भने ‘सस्ता बिजुली गाडी पर्याप्त छन् । ठूला गाडीमा डलर पनि बढी बाहिर जाने भएकाले थोरै मात्र राजश्व बढाइएको हो’ उनले भने ।