आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार १९ गते

आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार १९ गते


ग्लोब नेपाल
972
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखेको छ ।

सर्वोच्चले बहस नसकिएकोले अब अर्को सुनुवाइ असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ ।मुद्दा हेर्दाहेर्दैमा राखिएको यो तेस्रो पटक हो । यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्म खातीसहितका सरकारी वकिलहरूले बहस गरिसकेपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपीमा बढुवा गरेपछि एआईजी पोखरेलले दायर गरेको रिटमा सोमबार चारजना सरकारी वकिलले बहस गरे।

सोमबार बहसमा सहभागी हुँदै महान्यायाधिवक्ता खम्म खातीले नेपाल प्रहरीको महानिरीक्षक पदका लागि धीरजप्रताप सिंह नै उपयुक्त पात्र भएको बताएका थिए। उनले आईजीपीका लागि उपयुक्त हुन सरकारले काम कर्तव्य तोकेको पनि स्मरण गराए।

सोमबार उनीसहित सह-न्यायाधिवक्ता शोभकान्त भण्डारी, अर्का सह-न्यायाधिवक्ता खेमराज ज्ञवाली र नायव महान्यायाधिवक्ता कृष्ण जीबी घिमिरेले पनि आईजीपी नियुक्तिको प्रतिरक्षा गर्दै बहस गरे। अब असार १९ गते हुने सुनुवाइका क्रममा आईजीपी सिंहको पक्षबाट उनका निजी वकिलहरूले पनि बहस गर्ने भएका छन्।

बहस निरन्तर लम्बिँदै जाँदा एआईजी पोखरेलको संकट बढ्दै गएको छ। बहस लम्बिएर असारभित्रै आदेश नआएमा उनी साउन २० देखि अवकाश पाएर घर जानेछन्।