एसपीपीको पत्राचारमा छली काम भयाे, अमेरिकी दूतावासले सत्य बोल्नुपर्छ: ओली

एसपीपीको पत्राचारमा छली काम भयाे, अमेरिकी दूतावासले सत्य बोल्नुपर्छ: ओली


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का सन्दर्भमा गरिएको पत्राचारका सन्दर्भमा सत्य तथ्य बाहिर ल्याउन र वास्तविक पत्र सार्वजनिक गर्न सरकार र अमेरिकी दूतावासको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली सेनाले अमेरिकी दूतावासलाई पठाएको पत्रको मिति र चलानी नम्बर मात्र आफू प्रधानमन्त्री बनेको समयमा राखिएको दाबी गरे । उनले एसपीपी सन् २०१९ सालमा स्थगित गरिए पनि सत्ता गठबन्धनले अर्को घातक ड्राफ्ट ल्याएको आरोप लगाए ।

ओलीले आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ टिपेक्स लगाएर पत्र सार्वजनिक गरिएको दावी गरे । उनले भने, ‘म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ । टिपेक्स लगाएर हातले लेखेको स्पष्ट हुन्छ, चलानी नम्बर फेरिएको छ । छली काम भएको छ । हातले नलेखेको कहिलेको मितिमा पठाएको हो, त्यो ल्याऊ । ओरिजिनल पत्र देखाऊ ।’

उनले आफू प्रधानमन्त्री नहुँदै सेनाले अमेरिकी दूतावासमा पत्र पठाएको दावी गरे । ‘म प्रधानमन्त्री नहुँदै अमेरिकी एम्बेसीमा पठाएको हो, अमेरिकी एम्बेसीले पनि सत्य बोलोस् नभए चलानी नम्बर किन हातले लेखेको ?’ उनले प्रश्न गरे ।

ओलीले एमसीसी पास गर्ने गठबन्धनले कुनै पनि बेला एसपीपी ब्यूँताउन सक्ने आशंका व्यक्त गरे । ‘खतरा छँदैछ यो गठबन्धनका मान्छेहरू एमसीसीमा हात उठाएर पास गरेका हुन्,’ उनले भने, ‘पानीको भेल शान्त हुनेबित्तिकै जसरी माझीले जाल लिएर माछा मार्न जान्छ, भेल शान्त हुनेबित्तिकै अर्को जाल लिएर उनीहरू एसपीपीमा सामेल हुनेछन् ।’

उनले अहिले सार्वजनिक भएको मस्यौदा गठबन्धन सरकार बनेपछि तयार भएको भन्दै एमसीसीकै बेला देउवा र प्रचण्डले एसपीजीमा सहमति जनाएको दाबी समेत गरे ।