बुढीगंगामा पुनः मतदान रोक्न माग गरिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

बुढीगंगामा पुनः मतदान रोक्न माग गरिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


ग्लोब नेपाल
243
Shares

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको रटिमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

असार २३ मा पुनः मतदान गर्ने निर्णय रोकेर मतदानको मतगणना गर्नुपर्ने माग राख्दै रिट दायर भएको थियो। तर, मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानको मतगणना गर्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चको यो निर्णयसँगै निर्वाचन आयोगलाई २३ असारमा बुढीगंगामा पुनः मतदान गर्न बाटो खुलेको छ ।

निर्वाचन आयोगले बुढीगंगामा ३० बैशाखको मतदान रद्द गरी २३ असारमा पुनः मतदानको निर्णय गरिसकेको छ। बाजुराको बुढीगंगाका दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

बुथ कब्जा भएको भन्दै नेपाली कांग्रेसलगायत सत्तारुढ गठबन्धनका दलले पुनः मतदान मागेका थिए भने नेकपा एमालेले मतगणना माग गरेको थियो ।