सम्पूर्ण रूपमा चुनावमा होमिने निर्णय गर्दै सकियो नेकपा एसको केन्द्रीय परिषद् बैठक

सम्पूर्ण रूपमा चुनावमा होमिने निर्णय गर्दै सकियो नेकपा एसको केन्द्रीय परिषद् बैठक


ग्लोब नेपाल
135
Shares

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा होमिने निर्णयसहित नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय परिषद् बैठक सम्पन्न भएको छ ।

राजधानीमा दुई दिनसम्म चलेको बैठकले १७ वटा प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकका निर्णय सुनाउँदै उनले भने, ‘देशका सबै कुनामा नेकपा एसका उम्मेदवारहरू पुर्‍याउने र घर–घरमा कलम लिएर जान आह्वान गरिएको छ । हाम्रो पार्टी आजबाट चुनावमा होमियो ।’

बैठकले एसपीपीमा नेपाल संलग्न नहुने पत्र अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरेको उनले बताए । उनले कम्युनिस्ट एकतामा जोड दिँदै वामपन्थी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षताको पक्षमा एकजुट हुन पनि आह्वान गरेको जानकारी दिए । दैनिक जनजीवन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित अन्य समसामयिक प्रस्तावमा समाजवादीले मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुका साथै किसानलाई सहज तरिकाबाट मल बिउबिजनको व्यवस्था गर्न माग गरेको छ। यस्तै महिला तथा बालबालिकामाथि भइरहेको बलात्कारको घटनाको भत्सर्ना बैठकले गरेको छ ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार विपद्बाट हुनसक्ने क्षतिबाट बच्न पार्टी पंक्ति लाग्ने प्रस्ताव पारित गर्दै भारतीय बाँधको समस्या समाधान गर्न पनि सरकारसमक्ष माग गरिएको छ । भ्रष्टाचारमाथि कारबाही,सुकुम्बासी समस्या समाधान, हैजाको रोकथामलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

केन्द्रीय परिषद् बैठकले अध्यक्षको प्रतिवेदन संशोधनसहित पारित गरेको पनि खतिवडाले जानकारी दिए । लगभग १६०० जना परिषद् सदस्य सहभागी बैठकमा आम निर्वाचन र प्रदेशको निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा उभ्याउने भनेर साझा निर्णय भएको पनि उनले बताए ।

बैठकमा अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि ११ समूहमा छलफल भएको थियो। छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिइने समाजवादीको भनाइ छ।