त्रिवि सेवा आयोगले मागेको स्थायी दरबन्दीमा सबै फेल

त्रिवि सेवा आयोगले मागेको स्थायी दरबन्दीमा सबै फेल


ग्लोब नेपाल
2.5k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि), सेवा आयोगको कार्यालय कीर्तिपुरले तीन वर्ष अगाडि विभिन्न पदका लागि विज्ञापन गरेर लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

सेवा आयोगको कार्यालयले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार धेरै जसो पदहरुमा शुन्य नतिजा आएको छ । अर्थात स्थायी दरबन्दीका लागि मागेको सीमित पदमा बाँहेक सबै कोटामा एक जना पनि उत्तिर्ण हुन सकेका छैनन् । यो नतिजाले नेपालको उच्च शिक्षाको गुणस्तर कस्तो छ भन्ने कुरा प्रष्टसँग देखाईदिएको छ ।

आयोगले सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा एकजना पनि परीक्षार्थी उतीर्ण हुन सकेनन् । यी सबै पदको लिखित परीक्षामा सयौँको संख्यामा सहभागि जनाएका थिए । तर उत्तिर्ण भने एकै जना पनि भएनन् ।

त्रिवि सेवा आयोगले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने भन्दै २०७६ कार्तिक १५ मा विज्ञापन गरेको थियो । उक्त विज्ञापन अनुसार विभिन्न सेवा, समूह र श्रेणी अन्तर्गतका प्रशासनिक तथा प्राविधिक पदका लागि आवेदन त्रिवि सेवा आयोगले मागेको थियो । उक्त विज्ञापन गरिएका पदमा २०७७ माघ २५ देखि २०७७ फागुन २७ सम्म परीक्षा सञ्चालन भएका थिए भने, पुनः बाँकी पदहरुको परीक्षा २०७८ असोज २८ देखि २०७८ मंसिर १६ सम्म परीक्षा सञ्चालन गरिएको थियो ।

माथी उल्लेख गरिएका विज्ञापन अनुसार उप– प्रशासक पद विज्ञापन नं.२००१/२०७६-०७७ मा खुला २, महिला १, आदिवासी जनजाति १, गरी ४ ओटा दरबन्दी कायम गरिए छ । सो पदका लागि लिखित परीक्षामा १२ जना उम्मेद्वार सहभागी भए । तर, उक्त परीक्षामा सेवा आयोगले एक जना पनि निर्धारित सूचक पार गरी अन्तर्वार्तामा बोलाउन सकेन । अर्थात एक जना पनि उम्मेद्ववार पास हुन सकेन ।

यस्तै, शाखा अधिकृत पदको विज्ञापन नम्बर २००२/२०७६-०७७ का लागि खुला २२, महिला ६, आदिवासी जनजाति ५, मधेसी ४, दलित १, अपाङ्गत्ता १, र पिछडिएको क्षेत्र १ पदका लागि आवेदन माग गरिएको थियो । सो पदका लागि लिखित परीक्षामा ५४२ जना परीक्षार्थी सहभागी भए तर उत्र्तिण भने एक जना पनि हुन सकेन् ।

त्यस्तै, मुख्य कार्यलय सहायक पदका लागि विज्ञापन नं. २००३/२०७६-०७७ कायम गरेर आवेदन माग गरिएको थियो । यस पदका लागि खुला २४, महिला ६, आदिवासी जनजाति ५, मधेसी ४, दलित २, आफाङ्गता १ र पिछडिएको क्षेत्र १ पदका लागि ७७७ जना लिखित परीक्षामा सम्मिलित भए । तर विडम्बना यसमा पनि खुलामा एक जना बाहेक कुनै पनि उम्मेद्वार उत्र्तिण हुन सकेनन् ।

यसैगरी, कार्यलय सहायकका लागि विज्ञापन नं. २००४/२०७६-०७७ दिएर आवेदन माग गरिएको थियो । यो विज्ञापनमा खुला ३२, महिला ८, आदिवासी जनजाति ६, मधेसी ५, दलित २ अपाङ्गता १ र पिछडिएको क्षेत्र १ पदका लागि ६७२ जना परीक्षार्थी लिखित परीक्षामा सहभागी भए । खुला र महिलामा क्रमशः ४८ र २२ जना उत्तीर्ण भए भने अन्य पदमा माग अनुसार पास हुनै सकेनन् । उक्त पदमा आदिवासी जनजातिका लागि ६ सिट निर्धारण गरिएको भए पनि ५ जना मात्र उत्तीर्ण भए त्यस्तै मधेसी ५ मा ५ जनानै लिखित परीक्षामा उत्तीर्ण भए भने अन्य सिटमा परीक्षार्थी एक जना पनि उत्तीर्ण हुन सकेनन् ।

त्यसैगरी आर्थिक उपनियन्त्रक पदका लागि विज्ञापन नं. २००५/२०७६-०७७ दिएर खुला १ महिला १ पदका लागि जम्मा ३ जनाले परीक्षा दिए तर यो पदमा एक जना पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन् ।

सेवा आयोगले लेखा अधिकृत पदका लागि खुला ८ र अन्य समावेशी पदमा ७ सिट निर्धारण गरी विज्ञापन गर्यो । सो विज्ञापनको लिखित परीक्षामा १२९ जना सहभागी भए । तर यसमा पनि एक जना पनि उत्तीर्ण हुन सकेनन् ।

त्यस्तै मुख्य लेखा सहायक पदमा पनि दलित र अपाङ्ग कोटाका कोही उत्तीर्ण हुन सकेनन् । त्यस्तै लेखा सहायक पदमा पनि दलित उम्मेद्वार एक जना पनि उत्तीर्ण हुन सकेनन् ।

आयोगले लेखा सहायका लागि गरेको विज्ञापनमा अन्य सबै कोटा उत्तिर्ण भए पनि दलित कोटामा भने कुनै पनि उम्मेद्वार उत्तिर्ण हुन सकेन ।

त्रिवि सेवा आयोगले एकातिर विभिन्न पदका लागि आवेदन माग भएको एक वर्ष पछि परीक्षा सञ्चालन गरेको छ भने, लगभग डेढवर्ष पछाडि मात्र नतिजा सार्वजनिक गरेको छ । यो नतिजा सार्वजनिक लागि लागेको समयलाई नै पनि हेर्ने हो भने प्रश्न र आशंका उब्जने धेरै ठाउँ बाँकी नै राखेको छ ।

हेर्नुहोस् पूरा नतिजा: