हेटौडा । वागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनभित्रकै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्न सुरु गरेको हो । सहमति अनुसार कांग्रेसले सहजै आफूले सत्ताको नेतृत्व गर्न पाउनुपर्ने माग गरेपनि मुख्यमन्त्री पाण्डे भने केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र पछाडि हट्ने भनेर पन्छिएपछि हस्ताक्षर संकलन गरिएको एक सांसदले जानकारी दिए । ती सांसदका अनुसार प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरिएको हो । ‘अब बजेट पास भएपछि सबै प्रक्रिया अगाडि बढ्छ’, उनले भने ।
सहमति अनुसार मुख्यमन्त्रीले सहजै सत्ता नछाड्ने देखिएपछि हस्ताक्षर संकलन गर्नु परेको पनि उनले बताए । हाल माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री समेत फिर्ता बोलाउने तयारी भइरहेको उनले बताए।
मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसँग आधा–आधा समय मुख्यमन्त्री बन्ने सहमति पत्र नै गरेका थिए । तत्कालीन समयमा नेपाली कांग्रेस केन्द्रीय प्रवक्ता प्रकाशरण महतको उपस्थितिमा कांग्रेस र नेकपा एसबीच सहमति भएको थियो ।
सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । सोही समझदारीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए ।


प्रतिक्रिया