सेयर बजारमा सुधार, नेप्से परिसूचक ७५ अंकले बढेर २ हजारमाथि उक्लियो

सेयर बजारमा सुधार, नेप्से परिसूचक ७५ अंकले बढेर २ हजारमाथि उक्लियो


ग्लोब नेपाल
81
Shares

काठमाडौं । बिहीबार (आज) सेयर बजार परिसूचक नेप्सेमा झण्डै ७५ अंकमाथिको वृद्धि भएको छ । आज नेप्से परिसूचक ७४.९३ अंक बढेर २०३७.६४ विन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स १२.६३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७१ अंक बढेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। २२७ स्टकको ४७ हजार ३९२ पटकको कारोबारमा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको ७२ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन १ अर्ब ४३ करोडको मात्र शेयर कारोबार भएको थियो।

नेप्से उच्च अंकले बढेसँगै आज ६ स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल फाइनान्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सूर्योदय लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स, रिलायन्स फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बरुण हाइड्रोपावर, गुराँस लघुवित्तको शेयरमूल्य घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ९ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको करिब ६ करोडको शेयर कारोबार भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३१ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।