काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगत्का महानायक राजेश हमालबीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको थियो । भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाकाका अनुसार उनीहरूबीच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा छलफल भएको थियो।
अध्यक्ष प्रचण्डले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि राज्यका तर्फबाट जे–जति भूमिका निर्वाह हुनुपर्ने हो, त्यसो हुन नसकेकाले मिलेर काम गर्नुपर्ने बताएका थिए । नेपाली चलचित्र क्षेत्रलाई लामो समयसम्म डो¥याएर समृद्ध बनाउन नायक हमालले निर्वाह गरेको भूमिकाको समेत अध्यक्ष प्रचण्डले प्रशंसा गरेका थिए ।
कलाकारहरू खुलेर राजनीतिमा आउने परिपाटीको विकास अध्यक्ष प्रचण्डको पालामा नै भएको बताउँदै नायक हमालले कलाकारलाई राम्रो व्यवहार गर्ने परिपाटीको सुरुआत भएकामा प्रशन्नता व्यक्त गरेका थिए ।
उनले मुलुकमा सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्ने र त्यसपछि मात्रै अन्य कुरा विस्तारै राम्रो हुँदै जाने बताएका थिए । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत सामान्य चर्चा भएको बताइएको छ ।
प्रतिक्रिया