‘देउवा कांग्रेसको होइन, गठबन्धनका सभापति भए’

‘देउवा कांग्रेसको होइन, गठबन्धनका सभापति भए’


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवाको सरकारमाथि आर्थिक सुशासनको खिल्ली उडाएको र नीतिगत भ्रष्टाचार बढाएको आरोप लगाएको छ ।

शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको उक्त समूहका नेता डा.गोविन्दराज पोखरेलले जानकारी दिए । उनका अनुसार शेखर समूहले सभापति देउवा पाँच दलीय गठबन्धनको सभापतिका रुपमा प्रस्तुत भएको पनि निष्कर्ष निकालेको छ। बैठकले सभापति देउवा कांग्रेसको भन्दा गठबन्धनको सभापति भएको निष्कर्ष निकालेको पोखरेलले बताए ।

पोखरेलले महाधिवेशनको ६ महिना बितिसक्दा पनि देउवाले पुरानै शैलीमा एकलौटी पार्टी चलाउन खोजेको निष्कर्ष निकालिएको पनि बताए। ‘सभापतिजी नेपाली कांग्रेसको भन्दा गठबन्धनको सभापति भए भन्ने हाम्रो निष्कर्ष हो’, पोखरेलले भने, ‘चौधौँ महाधिवेशनमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि हाम्रो पक्षमा उभिएका थिए। तर देउवाले उनीहरुको पनि सभापति हो भन्ने देखाउन सकेनन्।’

पार्टीको यो गुटलाई देशव्यापी रूपमा परिचालन गरिने पोखरेले बताए । यद्यपि, समानान्तर संरचना नबनाउने उनको भनाइ छ ।

पोखरेलका अनुसार कोइराला समूहले सरकारले जनतालाई राहत दिन नसकेको र जनजीविकाका सवाललाई सम्बोधन गर्न नसकेको लगाएका पाँच बुँदे निष्कर्ष पनि निकालेको छ ।