वर्षाकाे वितण्डा : गाईघाट बजारका दर्जनाैं घर र पसल डुबे

वर्षाकाे वितण्डा : गाईघाट बजारका दर्जनाैं घर र पसल डुबे


ग्लोब नेपाल
81
Shares

उदयपुर । भिषण वर्षाका कारण उदयपुर सदरमुकामस्थित गाईघाट बजारका दर्जनौँ घर र पसल डुबानमा परेका छन् । घर र पसल डुब्दा विभिन्न उपभोग्य सामान भिजेर नष्ट भएका छन् । 

गाईघाट बजारकाे असारी लाइन क्षेत्रका पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रबार साँझदेखि परेको भिषण वर्षाले पसल र घर डुबेका हुन् । पसल डुब्दा २० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे उनले बताए ।

गाईघाट बजारको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभा टोल र पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबेकाे एक पसल सञ्चालक दीपक कार्कीले बताए ।

स्थानीयवासीकाे घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री नष्ट भएकाे छ । त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विकले शुक्रबार बेलुकीदेखि आएको अविरल वर्षाका कारण बजार क्षेत्रका घर र पसल डुब्दा एक करोडभन्दा बढीको क्षति हुन पुगेको बताए । आफूले बिहानैदेखि अनुगमन गरेको उनले जानकारी दिए ।

क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको उनको भनाइ थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख वसन्त बस्नेत र महेश्वरी राईले बजार डुबानमा परेपछि गाईघाट बजारको क्षतिको बारेमा अध्ययन गरिरहेको बताएका छन् ।