बागमतीका मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने

बागमतीका मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने

मुख्यमन्त्री हेरफेर गठबन्धनको शीर्ष नेतृत्वले टुंग्याउनुपर्ने अडान


ग्लोब नेपाल
216
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् ।

शनिबार नेकपा एकीकृत समाजवादी (एस) बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो ।

मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेस र माओवादीबाट भइरहेको हस्ताक्षरको बारेमा गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको बैठकपछि संसदीय दलका उपनेता कृष्ण खनालले जानकारी दिए । खनालका अनुसार केन्द्रीय गठबन्धनले जे गर्छ प्रदेशमा त्यही लागु हुनेछ । उनले तल हस्ताक्षर गर्ने वा हल्ला गर्ने कुराको कुनै तुक नहुने समेत बताए ।

‘केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ । तलका हल्लाले केही फरक पर्दैन’, संसदीय दलका उपनेता खनालले भने, ‘केन्द्रीय गठबन्धनले मिलाएर जाउ भनेमा मुख्यन्त्रीले राजीनामा दिनुहुन्छ नत्र राजीनामा सम्भव छैन ।’

खनालले अहिले बागमतीमा नेकपा एसले छाड्दा अर्को कुन प्रदेशको मुख्यमन्त्री पाउने भन्ने प्रश्न पनि रहेकाले यसबारेमा कुनै छलफल बैठकमा नभएको बताए ।

यस्तै, नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले वागमतीमामात्रै मुख्यमन्त्री परिवर्तन हुन नसक्ने बताए । उनले सातै प्रदेशबारे छलफल भएर निर्णय भए आफ्नो पार्टी बाधक नबन्ने तर बागमतीको मात्रै मुख्यमन्त्री परिवर्तनको पक्षमा आफ्नो पार्टी नरहेको बताए ।