माओवादीको केन्द्रीय समिति बैठक बस्दै, लाग्ला त पदाधिकारीको टुंगो ?

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, लाग्ला त पदाधिकारीको टुंगो ?


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समिक्षा गरी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा योजनाबारे छलफल हुने नेताहरूले बताएका छन् ।

यस्तै बैठकले केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन गर्ने माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । गत पुसमा काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निरन्तरता दिँदै २ सय ४६ केन्द्रीय सदस्य चयन गरेपनि अन्य पदाधिकारी भने अहिलेसम्म टुङ्गो लगाएको छैन ।

आठौं महाधिवेशनले पारित गरेको विधानमा अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी रहने व्यवस्था छ । २ सय ९९ सदस्यीय केन्द्रीय सदस्यहरूमा १५ प्रतिशत सदस्य मनोनित र थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । मनोनित र वैकल्पिक केन्द्रीय सदस्य चयन हुन पनि बाँकी छ । केन्द्रीय समिति बैठक तीन दिनसम्म चल्ने माओवादीले बताएको छ ।