परराष्ट्र मन्त्रालयले भन्यो: एसपीपीमा सहभागी नहुने निर्णय अ‍मेरिकालाई पठाएका छैनौँ

परराष्ट्र मन्त्रालयले भन्यो: एसपीपीमा सहभागी नहुने निर्णय अ‍मेरिकालाई पठाएका छैनौँ

'अध्ययन भैरहेको छ, उपयुक्त समयमा पत्राचार गर्छौं'


ग्लोब नेपाल
1.3k
Shares

काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पाटनर्सिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने विषयमा नेपाल सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा अध्ययन भैरहेको बताइन्। सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ ।मन्त्रालयले पनि सरकारको निर्णय प्राप्त भएको तर अमेरिका पठाइनसकेको प्रवक्ता लम्सालले बताइन् ।

‘पहिले हामीबाट पत्राचार भएको होइन । यस बारेमा अध्ययन भैरहेको छ। उपयुक्त समयमा नेपाल सरकारको निर्णयलाई डिप्लोम्याटिक च्यानलबाट पत्राचार गर्छौं, ढुक्क हुनुहोस्,’ प्रवक्ता लम्सालले भनिन्, ‘एसपीपीको विषयमा सरकारले गरेको निर्णय प्राप्त भएको छ ।’

यसअघि सन् २०१५ र सन् २०१७ मा नेपाली सेनाले एसपीपीमा सहभागी गराउन काठमाडौंस्थित अमेरिकी दूतावासमा पत्राचार गरेको थियो । त्यसपछि अमेरिकाले सन् २०१९ मा नेपाललाई एसपीपीमा सहभागी गराएको थियो ।

गत जेठमा नेपाल एसपीपीमा सहभागी भएको विषय सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । त्यसपछि सरकारले असार ६ गते एसपीपी कार्यक्रममा संलग्न नहुने निर्णय गरेको थियो । त्यसैअनुसारको जानकारी परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई जनाउने निर्णय गरेको थियो ।