वाम एकताको विकल्प छैन, फेरि नयाँ तरिकाले एकता गर्न सकिन्छ: प्रचण्ड

वाम एकताको विकल्प छैन, फेरि नयाँ तरिकाले एकता गर्न सकिन्छ: प्रचण्ड


ग्लोब नेपाल
648
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको विषयले प्रवेश पाएको छ ।

आइतबारदेखि काठमाडौमा सुरु भएको माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता औँल्याउँदै सदस्यहरुको राय समेत माग गरेको छन् । प्रदेश समितिबाट रिपोर्टिङ भइसकेपछि बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले वाम ध्रुवीकरण र एकताका लागि आउने क्रम अहिले पनि चलिरहेको बताएका छन्। तत्कालीन नेकपा अहिले तीनवटा ध्रुवमा पुगेको बताउँदै उनले त्यसबाट निस्किएर आफूहरु आठौं राष्ट्रिय महाधिवेशनदेखि यहाँसम्म आइपुगेको पनि बताए।

उनले आइतबार बिहानमात्रै आफ्नो तत्कालीन नेकपाका केन्द्रीय सचिवालयमा रहेका नेताहरुसँग अनौपचारिक छलफल भएको भन्दै आजै भ्याएसम्म तत्कालीन सचिवालयमा रहेका बहुमत सदस्यहरुको बैठक बस्ने तयारी भएको बैठकमा बताएको एक नेताको भनाइ छ । बैठक बसेर एकताका लागि आह्वान गर्ने योजना रहेको प्रचण्डले बैठकमा सुनाए ।

‘फेरि नयाँ तरिकाले कम्युनिस्ट एकता गर्न सकिन्छ । नेकपाका तत्कालीन सचिवालयका नेताहरुसँग कुरा भएको छ’ उनले भने, ‘आज बिहानमात्रै पनि छलफल भएको थियो । यो बैठक आज छिट्टै सकियो भने सचिवालयको बहुमतको बैठक बस्नुपर्यो भनेर साथीहरुले भन्नु भएको छ । अपिल गर्नुपर्यो भनेर भन्नु भएको छ ।’

उनले एमालेसँग पनि फेरि एकता र सहकार्यको सम्भावना नसकिएको पनि बताएका छन्। ‘एमालेभित्र पनि अहिले जस्तो बहस प्रभावित गर्न खोजिएको छु’, उनले भने, ‘वाम ध्रुवीकरणका क्रममा मिलेर जान नसकिने होइन। तर एमालेका पनि दुई चार जनामा समस्या भएकाले मात्रै कुरो अघि नबढेको हो।’