काठमाडौं । नेपाल प्रेस युनियनको बागमती प्रदेशको राजधानी हेटौँडामा आउँदो साउन ६ र ७ गते हुने नवौं राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ । महाधिवेशन तयारीका लागि हेटौँडामा सचिवालय स्थापना गरिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सो सचिवालयको उद्घाटन गर्दै महाधिवेशनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको महाधिवेशनमा अधिराज्यभरिका करिब एक हजार ५०० प्रतिनिधि र अतिथिको सहभागिता रहने बताए । महाधिवेशनको तयारीका लागि केन्द्रीय तथा स्थानीय समिति गठन भइसकेको जनाइएको छ ।
युनियनका अध्यक्ष सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । महाधिवेशन सम्पन्न गर्न युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समिति बनाएको छ । सहसंयोजकमा केन्द्रीय सदस्य गिरिजा अधिकारी, आवास व्यवस्थापन समिति संयोजकमा सुजन विडारी, पोष्टराज अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन र प्रचारप्रसारको जिम्मेवारी केशव समर्पणलाई दिइएको छ ।
त्यस्तै मूल आयोजक स्वागत सत्कार समितिको संयोजकमा युनियनका उपाध्यक्ष ईश्वरी ओझा र विधान मस्यौदा संशोधन समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी कार्यवाहक महासचिव भीष्मराज ओझा तथा कोषाध्यक्ष सरोज अधिकरीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।
साथै अधिवक्ता तेज रावलको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको बताइएको छ । सो महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको युनियनले जनाएको छ ।
प्रतिक्रिया