चुनावमा भएको अन्तरघात छानबिनका लागि एमालेले बनायो तीन सदस्यीय समिति

चुनावमा भएको अन्तरघात छानबिनका लागि एमालेले बनायो तीन सदस्यीय समिति


ग्लोब नेपाल
81
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि तीन सदस्ययी समिति गठन गरेको छ ।

आईतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । गुरुङका अनुसार उक्त समितिमा केन्द्रीय निर्वाचनको प्रमुख र केन्द्रीय संगठन विभागको प्रमुख सदस्य रहेका छन् । यो समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको छ ।

स्थानीय चुनावमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको गुरुङले बताए । ‘तर, आन्तरिक समस्याहरूका कारण सोचेबमोजिम नतिजा आएन । अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू भए । त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ,’ उनले भने ।