बजेटप्रति ओलीको कटाक्ष: यो देशको होइन, निश्चित घरानाको बजेट भयो

बजेटप्रति ओलीको कटाक्ष: यो देशको होइन, निश्चित घरानाको बजेट भयो


ग्लोब नेपाल
621
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक २०७९/०८० वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्‍याएर ल्याएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले सरकारले आर्थिक वर्षकाे बजेट देशका लागि नभएर निश्चित व्यापारी घरानालाई फाइदा पुग्ने गरी ल्याएको आरोप लगाएका हुन् । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ,’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’

अर्थ मन्त्रालयमा व्यापारी बोलाएर र उनीहरूकै इच्छाअनुसार करको दर परिवर्तन गरिएको भन्दै उनले व्यापारीका मान्छे राखेर बजेट बनाउनु आर्थिक अनुशासनहीनताको पराकाष्ठा भएको पनि बताए । यसबारे छानबिन गर्न ओलीले माग गरे । अर्थमन्त्री जनार्दन शर्माले एमाले को हो ? उसले भन्दैमा सिसिटिभी फुटेज दिनुपर्छ ? भनेर दिएको अभिव्यक्तिप्रति प्रतिवाद गर्दै ओलीले यसबारे मन्त्री मात्र होइन, सिंगो मन्त्रिपरिषद्सहित प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताए ।

उनले करका दर हेरफेर जानीबुझी गरिएको बताए। उनले यो देशकैलागि दुभाग्य भएको बताए।  ‘अनाधिकृत मानिस राखेर, सेटिङ गरेर कुन उद्योगलाई छुट दिने कुनलाई सुकाउने गरी योजनाबद्ध प्लटिङ गरिएको छ,’ उनले भने,‘प्रश्न गर्दा प्रतिपक्षलाई धम्काएको छ।’

एसपीपीबारे उनले सरकारबाटै अन्योलमा राख्ने काम भएको भन्दै विरोध गरेका छन् । ‘इनफ इज इनफ, अब त अति भयो’ उनले भने । एसपीपीका सन्दर्भमा सरकारले जनतालाई अन्योलमा राखेको उनको भनाइ थियो ।