जनार्दन शर्माले दिए अर्थमन्त्रीबाट राजीनामा

जनार्दन शर्माले दिए अर्थमन्त्रीबाट राजीनामा


ग्लोब नेपाल
621
Shares

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन भएपछि पदबाट राजीनामा दिएका छन् ।

उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै शर्माले संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे । प्रतिपक्षी दल नेकपा एमालेले उनको सम्बोधन बहिष्कार गरेको थियो ।

शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

शर्मामाथि विदेशबाट अवैध ढंगले आएको रकम खुला गरिदिन अनधिकृत निर्देशन दिएको र उक्त निर्देशन अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको समेत आरोप लागेको छ ।