माओवादीले मात्रै नैतिकता र त्यागको संस्कार देखाउँछः प्रचण्ड

माओवादीले मात्रै नैतिकता र त्यागको संस्कार देखाउँछः प्रचण्ड


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताएका छन् ।

राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जिज्ञासाको जवाफ दिँदै उनले माओवादीले मात्रै नेपाली राजनीतिमा नैतिकताको संस्कार र त्याग पनि हुन्छ भन्ने विषयको सञ्चारसमेत भएको बताए । अर्थमन्त्रीका रुपमा नेता शर्माले कुनै गलत काम नगरेको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले बजेटमा समावेश भएका कतिपय प्रगतिशील विषय केही मानिसलाई मन नपरेको उल्लेख गरे ।

उनले वर्तमान सरकार र गठबन्धन बनेदेखि नै यसलाई टुटाउनका लागि अनेकन प्रयास भइरहेको तथ्य पेश गर्दै अर्थमन्त्रीको मानमर्दन गरिनु पनि त्यसैको निरन्तरता भएको अथ्र्याए । “अर्थमन्त्रीले आफूले कुनै पनि गलत काम नगरेको भनेर पटक–पटक प्रष्टिकरण दिँदै आउनुभएको र बुधबार संसद्मा आफ्नो कुरा स्पष्टसँग राखेर राजीनामा दिनुभएको छ, यसले त्याग र नैतिकताको सन्देश गएको छ”, अध्यक्ष प्रचण्डले भने ।

बजेट निर्माणको अन्तिम दिन अनाधिकृत मानिसलाई प्रवेश गराएको लगायतका विषयमा प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । त्यस सम्बन्धमा छानबिनका लागि प्रतिनिधिसभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

अनावश्यक विषयलाई उचालेर माओवादी नेतृत्वको मानमर्दन गर्ने र गठबन्धन धरापमा पार्न सकिन्छ कि भन्ने ध्येयका साथ केहीले गलत राजनीति गर्न खोजेपनि उनीहरु परास्त भएको अध्यक्ष प्रचण्डको भनाइ छ । यही असार १९ गते आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सोही दिन र सोमबार केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए।