मध्य पहाडी राजमार्गमा याे वर्ष ४ अर्ब ९० करोड मात्र खर्च !

मध्य पहाडी राजमार्गमा याे वर्ष ४ अर्ब ९० करोड मात्र खर्च !


ग्लोब नेपाल
621
Shares

काठमाडौं । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाडी राजमार्गकालागि आर्थिक वर्ष २०७८/०७९ मा विनोयोजित बजेट ६ अर्ब ९८ करोड रहेकोमा आजसम्म जम्मा ४ अर्ब ९० करोड मात्र खर्च भएको छ । यो जम्मा रकमको ७० प्रतिशत मात्र हो । यो आर्थिक वर्षको अन्त्यसम्ममा जम्मा बजेटको ७५ प्रतिशत मात्र खर्च हुने अनुमान छ । पूर्व पश्चिम राजमार्ग जस्तै पहाडी क्षेत्रको पूर्वमा पाँचथर जिल्लाको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडी जिल्लाको झुलाघाटसम्म पुग्ने गरी करीब १८७९ किलोमिटर लम्बाईको वैकल्पिक राजमार्गको अधिकांश ट्रयाक खोल्ने कार्य सम्पन्न भई कालोपत्रे गर्ने कार्य भइरहेको छ ।

यस राजमार्गले करिब ५० लाख जनतालाई प्रत्यक्ष यातायात सुविधा पुर्‍याउने देखिन्छ । यसबाट हुने सुविधाको कारण उक्त क्षेत्रको आर्थिक, सामाजिक विकासमा प्रगति हुने साथै सो क्षेत्रबाट हुने बसाई सराई निरुत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुने देखिएको छ । यस राजमार्गको रेखाङ्कन भित्र पर्ने विभिन्न जिल्लाहरुमा नेपाल सरकारको १० वटा आधुनिक शहरहरु विकास गर्ने लक्ष्य समेत रहेको हुँदा सो क्षेत्रमा आर्थिक गतिविधिमा वृद्धि भई रोजगारीका थप अवसरहरु सृजना हुने र सर्वसाधारण जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।

यस राजमार्ग आसपास रहेका विभिन्न पर्यटकीय स्थलहरु समेत यातायात पूर्वाधारको आभावमा यथेष्ट प्रचार प्रसार एवं विकास हुन नसकेको परिप्रेक्षमा राजमार्गको निर्माण सँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा वृद्धि भई अर्थतन्त्र थप चलायमान भइरहेको छ । राजमार्ग निर्माण सम्पन्न भएपछि विद्यमान आर्थिक, सामाजिक सूचकहरुको उल्लेख्य रुपमा परिवर्तन हुने संकेत देखिएको हुँदा यो राजमार्ग एउटा रुपान्तकारी योजना हुन सक्ने अपेक्षा गरिएको छ ।

आयोजना सम्पन्न भई सम्पूर्ण सडक खण्डहरु कालोपत्रे स्तरमा पुगेपछि र प्रस्तावित सबै पुलहरुको निर्माण कार्य सम्पन्न भई सकेपिछ मध्यपहाडी क्षेत्र हुँदै पूर्व मेची देखि पश्चिम महाकालीसम्म नै निर्वाध रुपमा यातायात सञ्चालनमा आउने छ । तत् पश्चात यो सडक नेपालको सडक यातायात क्षेत्रमा मेरुदण्डको रुपमा स्थापित भई विकासका सबै सम्भावनाहरुको ढोका खोल्न कोसेढुङ्गा सावित हुने विश्वास लिईएको छ । नेपाल सरकारको आन्तरिक श्रोतबाटै सम्पूर्ण खर्च व्यहोर्ने गरी विगत १५ वर्षदेखि यो आयोजना सञ्चालनमा रहेको छ ।