जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन

जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन


ग्लोब नेपाल
270
Shares

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारबाट छानबिन सुरु हुने भएको छ ।

करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको, सीसीटीभी फुटेज मेटाएको लगाएतका आरोप लागेपछि २२ असार २०७९ मा प्रतिनिधि सभाले ११ सदस्यीय विशेष समिति (छानबिन समिति) गठन गरेको थियो । तयसै दिन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उक्त समितिलाई कार्य प्रारम्भ गरेको १० दिने समय दिइएको छ ।

सचिवालयले काम सुरु गरेपछि शर्मामाथिको छानबिन अघि बढेको छ । बिहीबार नै समितिले काम थाल्ने तयारी भए पनि एक दिन ढिला भएको हो। शुक्रबार (आज) सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवन नयाँ बानेश्वरमा सहजीकरण बैठक राखेका थिए । उक्त बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको छ ।

सहजीकरण बैठकले आउँदो मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने तय गरेको हो । संसद सचिवालयका अनुसार मंगलबार बस्ने पहिलो बैठकले समितिको संयोजक तय गर्नेछ। सोही दिन कार्यविधिसमेत बनाएर समितिले आफ्नो कार्य थालनी गर्नेछ ।

११ सदस्यीय विशेष समितिमा एमालेका ४ सांसद, २/२ सांसद नेपाली कांग्रेस र माओवादी केन्द्रका तथा एकीकृत समाजवादी, जसपा र लोसपाबाट १/१ सांसद सदस्य रहेका छन्।