काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मधेसको समस्या समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सुनसरीको कोसी गाउँपालिका-१ स्थित लौकहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मधेसी समाज समृद्ध नभएसम्म मुलुकलाई समृद्ध बनाउने सपना अधुरो रहने बताए । उनले भने, “मधेसको समस्या समाधान गर्न र मधेसी समुदायको समृद्धिका लागि म जनताको साथमा छु ।”
नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिको पार्टी भएको उल्लेख गर्दै मन्त्री कार्कीले कांग्रेसले सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढिरहेको दाबी गरे । उनले देशमा हिमाल, पहाड र मधेस गरेर तीन वटा भगौलिक क्षेत्र भएको बताउँदै कांग्रेसले विसं २००७ देखि नै मधेसलाई उच्च प्राथमिकताको साथ हेरिरहेको बताए ।
नागरिकता समस्याबाट मधेसका युवालाई ठूलो समस्या भएकाले यसलाई ध्यानमा राखेर वर्तमान सरकारले काम गरिरहेको मन्त्री कार्कीले जानकारी दिए ।
यस्तै, जसपा नेपालसहित विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकालाई उनले फूलमाला र अविर लगाएर स्वागत गरेका थिए ।
प्रतिक्रिया