यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पारित, उजुरी दिने हदम्याद बढ्यो

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पारित, उजुरी दिने हदम्याद बढ्यो

'अब बलात्कार मुद्दामा झूटा उजुरी दिनेलाई सजाय नहुने'


ग्लोब नेपाल
135
Shares

काठमाडौं । यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई सर्वसम्मतले पारित गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राखेको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि सो विधेयकमाथि बैठकमा छलफल भएको थियो भने बैठकका क्रममा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको मन्त्री कोइरालाले जवाफ दिएका थिए । कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि सोमबार सदनमा छलफल भएको थियो ।

अब यौन हिंसा र बलात्कारज्य घटना भएको खण्डमा नाबालिकको हकमा बालिग भएपछि एक वर्ष भित्र उजुरी दिनुपर्ने अन्यथा मुद्दा नलाग्ने प्रचलित व्यवस्था छ । यसलाई बदलेर प्रतिनिधि सभाले उजुरी गर्न पाउने समय एक वर्ष थपेको छ ।

पारित विधेयक अनुसार अब नाबालिकको हकमा यौन हिंसा र बलात्कार जन्य घटना भएको भए पीडित १८ वर्ष पुगेपछिको ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने हुन्छ । यस्तै, अपाङ्गता, ७० वर्ष पुगेका जेष्ठ नागरिक र सुस्त मनस्थितिको हकमा हिंसामा परेको ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने नयाँ प्रावधान पनि विधेयकमा थपिएको छ ।

यस्तै, बालिगको हकमा हिंसा (बलात्कार) भएको एक वर्ष भित्र उजुरी गरिसक्नुपर्ने पर्ने प्रचलित व्यवस्था छ । यसलाई बदलेर प्रतिनिधि सभाले घटना भएको २ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था राखेको छ ।

यसैगरी यौन हिंसा र बलात्कार वा बलात्कारजन्य घटनामा झुटा उजुरी दिनेलाई कसूर गर्नेले पाउने सजायको आधा सजाय हुने व्यवस्था पनि यो विधेयकबाट हटाइएको छ ।