देउवालाई निधिको सुझाव: पहिले पार्टीलाई एकताबद्ध गर्नुस्

देउवालाई निधिको सुझाव: पहिले पार्टीलाई एकताबद्ध गर्नुस्


ग्लोब नेपाल
2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिले पार्टीभित्रै एकता खोज्न सुझाव दिएका छन्।

बिहीबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा निधिले पार्टीभित्र पनि एकता कायम गर्न सभापतिलाई सुझाव दिएका हुन् । पाँच दलबीच मात्र तालमेल गरेर नहुने भन्दै निधिले आउँदो निर्वाचनमा कांग्रेस सफल हुन पार्टीभित्र पनि गठबन्धनको खाँचो रहेको औंल्याएका हुन् ।

‘१४औं महाधिवेशनमा तपाईंविरुद्ध म, शेखरजी, प्रकाशमानजी उम्मेदवार हुनुन्थ्यो । कांग्रेसमा सभापतिबाहेकका शक्ति केन्द्र र उपकेन्द्र धेरै छन् । र, यी केन्द्र र उपकेन्द्रलाई एकताबद्ध गरेर चुनाव जित्न र पार्टीको सुदृढीकरणका लागि अत्यावश्यक छ उनले भने, ‘मैले उहाँलाई भनेको छु, जुन काम तपाईँको काँधमा छ । ६ महिनाभन्दा बढी नाघिसक्यो विभागलगायतका विभिन्न काम बाँकी छन् । यी सबैमा हामी सहयोग गर्छौं ।’

स्थानीय चुनावमा कांग्रेसले बढी सिट ल्याएको र प्रदेश र संघको निर्वाचनमा त्योभन्दा बढी उद्देश्य लिएर बहुमत आउने गरी काम गर्नुपर्नेमा निधिको जोड थियो । ‘स्थानीय चुनावमा मेयर/उपमेयर, अध्यक्षको टिकट वितरणमा असन्तुष्टि भएर कतिपय ठाउँमा स्वतन्त्र साथीहरूले जितेका छन् । उनीहरूलाई पनि आउँदो चुनावमा कांग्रेसको पक्षमा लाग्न मिलाएर लैजानुपर्छ’, उनले भने ।