नैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ: प्रधानमन्त्री

नैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ: प्रधानमन्त्री


ग्लोब नेपाल
648
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन्।

बालुवाटारमा शुक्रबार बसेको पाँच दलीय गठनबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गभर्नरको राजनीतिक संलग्नता देखिएको विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीको राजनीतिक संलग्नता देखिएको भन्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएको एक नेताले जानकारी दिए ।

‘बैठकमा सहभागी अन्य नेताहरूले पनि अधिकारीको राजीनामा माग्नु पर्ने बताउनु भएको थियो’, बैठकमा सहभागी ती नेताले भने, ‘प्रधानमन्त्री देउवाले भने गभर्नरको राजनीतिक संलग्नता देखिएको कारण अन्यले राजीनामा माग्ने नभइ अधिकारी स्वयंले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको थियो ।’ बैठकमा रहेका कांग्रेस प्रवक्ता प्रकाशरण महतले पनि विषय गम्भीर रूपले उठेको बताए ।

असार २६ मा एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका ‘एम अधिकारी’ को नाम रहेको छ ।

उक्त एम अधिकारी नामको व्यक्ति गभर्नर अधिकारी नै भएको समाचार सार्वजनिक भइरहँदा राजीनामा माग हुँदै आएको हो । स्वय‌‌म अधिकारी र नेकपा एमालेले भने एम अधिकारी भनेको महाप्रसाद नभएको प्रष्ट पारिसकेका छन् ।