प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित


ग्लोब नेपाल
2.8k
Shares

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको रिक्त रहेको उपसभामुख पदमा सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) निर्वाचित भएकी छन् ।

शुक्रबार (आज) भएको निर्वाचनमा कांग्रेसकी सचेतकसमेत रहेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी हुन् । उपसभामुखमा निर्वाचि भुसालले १४८ मत प्राप्त गरिन् भने एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३ मत मात्रै पर्‍यो । साढे २ वर्षदेखि उपसभामुखविहिन रहेको प्रतिनिधि सभामा भुसालले नयाँ जिम्मेवारी पाएकी हुन् ।

भुसाल दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।२०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भुसाल अहिले वाम गठबन्धनमा रहेको माओवादी केन्द्र र तत्कालीन एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को भोटको बलमा उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसाललाई जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि भोट दिएको छ । 

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । शुक्रबारको निर्वाचनमा २४२ सांसद उपस्थित थिए । एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन ।

तत्कालीन उपसभामुख तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते राजीनामा दिएपछि प्रतिनिधि सभामा नयाँ उपसभामुखको निर्वाचन हुन सकेको थिएन ।