ओलीसँग नारायणकाजीको प्रस्तावः वामपन्थी शक्तिबीच तालमेल गरौं

ओलीसँग नारायणकाजीको प्रस्तावः वामपन्थी शक्तिबीच तालमेल गरौं


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरुबीच तालमेलको प्रस्ताव गरेका छन्।

नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा नेपालको भूराजनीतिक अवस्थाको बारेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले आउने चुनावमा पार्टी एकता नभए पनि नेकपा एमाले र माओवादीबीच तालमेल गर्न प्रस्ताव राखेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित मन्चबाट माओवादी नेता श्रेष्ठले वाम तालमेलको प्रस्ताव राख्दा अधिकांश एमाले कार्यकर्ता उपस्थित हलबाट लगातार ताली बजेको थियो । वामपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्माआलोचना गर्दै श्रेष्ठले भने, ‘कमरेड केपी ओली यही हुनुहुन्छ । सबैसँग विनम्रतापूर्वक आग्रह गर्छु । तुम शेर तो हम सवा शेर भन्ने छाडौं । घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौं ।प्रतिनिधिसभा विघटनमा के भयो ? १९ बुँदे आरोपपत्रमा के भएको हो ? क-कसको के भूमिका थियो, समीक्षा गरौंला । तर, अहिले एकता नहोला तालमेल गरेर जाऔं ।’

नेता श्रेष्ठले वामपन्थीहरु एकापसमा लड्दा कम्युनिस्ट आन्दोलन सिद्धिने र त्यसको असर मुलुकको देशभक्तिपूर्ण आन्दोलन कमजोर भएर देश संकटमा पर्ने पनि बताए ।