चुच्चे नक्सा र उत्तरी नाका खोलेवापत मलाई प्रधानमन्त्रीबाट हटाइयो: ओली

चुच्चे नक्सा र उत्तरी नाका खोलेवापत मलाई प्रधानमन्त्रीबाट हटाइयो: ओली


ग्लोब नेपाल
486
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाः चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले देशभक्ति र राष्ट्रिय हितको पक्षमा बोल्नेहरुलाई हटाउन सौदाबाजी हुने गरेको बताए । उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफूलाई दुवैपटक सत्ताच्युत गरिएको दावि गरे।

‘चुच्चे नक्सा छापेपछि यसमा सौदाबाजी हुन्छ र त्यसका विरुद्ध एकजुट हुन्छन् । अपवित्र साँठगाँठ हुन्छ भन्ने थाहा थियो । त्यो थाहा भएरै गरेको हो’, ओलीले भने, ‘चीनतिरबाट नाका खोलेबापत पहिलोपटक चीनबाट म फर्केलगत्तै हट्नुपरेको होइन ? १७ वटा चेकपोष्ट हटाएबापत कीर्तिनिधिले छाड्नपरेको थियो । उत्तरतिर नाका खोलेबापत, चुच्चे नक्सा छापेबापत मैले सत्ताबाट हट्नुपरेको हो ।’

उनले वर्तमान सत्ता गठबन्धनले जति भौगोलिक अखण्डता, स्वाधिनता, सार्वभौम सत्ताको अपमान अरु कुनै सरकारले नगरेको ओरोप लगाए । अध्यक्ष अ‍ेलीले अहिलेको सरकारले सार्वभौम सत्ता अपमान गरेका प्रमाणहरु प्रशस्त रहेको पनि बताए ।