संसदीय छानबिन समितिद्वारा अर्थमन्त्रालयका उच्च अधिकारीहरूसँग सोधपुछ

संसदीय छानबिन समितिद्वारा अर्थमन्त्रालयका उच्च अधिकारीहरूसँग सोधपुछ


ग्लोब नेपाल
351
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित इन्जिनियर लागायत उच्च अधिकारीहरुसँग सोधपुछ गरेको जनाएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसहितका पदाधिकारीहरूसँग सोधपुछ गर्ने तयारी रहको बताइएको छ। आइतबार नै अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

‘शनिबार पनि भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशहरु र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग सोधपुछ गर्ने काम भयो । आइतबार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटीको इन्जिनियरसँग ८ बजेको बैठकमा छलफल भयो’, उनले भने, ‘त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो । अब राजश्व सचिवसँग छलफल तथा सोधपुछ गर्ने कार्यक्रम छ । सचिवसँगको सोधपुछपछि अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग छलफल सक्ने तयारी छ ।’

सचिव अर्यालका अनुसार आइतबार नै अर्थ मन्त्रालयसँग सम्बिन्धत विषयका प्रमाण र कागजातका लागि आवश्यक सबै अधिकारीहरूसँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा अनधिकृत व्यक्तिको प्रवेश गराएर राजस्व दरमा हेरफेर गराएको आरोपपछि तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका छन्।