‘नेपाललाई शक्ति राष्ट्रले खेल मैदान बनाए, सरकार र दलहरु बोलुन्’

‘नेपाललाई शक्ति राष्ट्रले खेल मैदान बनाए, सरकार र दलहरु बोलुन्’


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्तिराष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफूअनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका हुन् ।

उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पारे। देवले नेपाललाई कुनै पनि शक्ति राष्ट्रको खेल मैदान बनाउनु नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराए। सांसद देवले नेपालको कुनै पनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरुले भन्न सक्नुपर्ने बताए।

‘नेपालमा कुन विषयमा कसरी जाने यो नेपाली जनताको सार्वभौम अधिकारको कुरा हो। नेपाल सरकारको कुरा हो। नेपाली जनताको कुरा हो। हामी सार्वभौम नेपाली, सार्वभौम देश। सार्वभौमसत्ता सम्पन्न नेपाल मुलुक हो। हाम्रो विषयमा एमसीसी लिनुहुन्छ कि लिनु हुँदैन ? एसपीपीमा जानु हुन्छ कि हुँदैन ? यो अथवा त्यो रुपमा नेपाललाई प्लेइङ ग्राउण्ड बनाउनेतिर दुनियाँका शक्तिहरु त्यतातिर अग्रसर भएका छन्’, उनले भने, ‘हामी नेपाली जनता, नेपालका राजनीतिक शक्तिहरूलाई ध्यानाकर्षण गराउन चाहन्छौँ। मुख्य नेताहरुलाई म ध्यानाकर्षण गर्न चाहन्छु । नेपाल यी शक्ति राष्ट्रहरुको प्लेइङ ग्राउण्ड नबनोस्। र खुला रुपमा, स्पष्ट नेपाल सरकार र नेपाली जनताले, नेपालका राजनीतिक पार्टीहरुले भनोस् कि नेपालको कुनै विषयमा निर्णय लिने सार्वभौम अधिकार नेपाली नाताको हो तिमीहरु बोल्न पाउँदैनौँ। तिमीहरु बोल्यौ कि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ यो। यो कुरा भन्न सक्नुपर्छ नेपाल सरकार र नेपालका राजनीतिक पार्टीहरुले।’

उनले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण र माओवादी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणले दुई देशका पार्टी-पार्टी बीचको सम्बन्ध राम्रो बनाएको उल्लेख गरे।