संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि टिप्पणी गर्दिनँ: सभामुख सापकोटा

संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि टिप्पणी गर्दिनँ: सभामुख सापकोटा


ग्लोब नेपाल
972
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा दर्ता गराएको ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९’ विधेयकको आलोचना भइरहेको बेला सभामुख अग्निप्रसाद सापकोटले विधेयकमाथि कुनै टिप्पणी नगर्ने बताएका छन्।

संसद् सचिवालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सोमबार सभामुख सापकोटाले राष्ट्रिय सभामा दर्ता भएको विधेयकमाथि टिप्पणी नगर्ने बताएका हुन्। उनले अर्को सभामा दर्ता विधेयकलाई लिएर चर्चा गरिहाल्न नहुने बताए । ‘संवैधानिक परिषदसम्बन्धि विधेयकबारे तपाईले कुरा राख्नुभयो तर अर्को सभामा दर्ता भएको विधेयकबारे चर्चा गर्नु मनासिव लागेको छैन । धेरै टिप्पणी नगरौँ’, उनले भने ।

संवैधानिक परिषदसम्बन्धी ऐनको प्रावधान जगाउन सरकारले ल्याएको विधेयकप्रति प्रतिपक्षी दल एमालेले विरोध जनाइरहेको छ। राष्ट्रियसभा सचिवालयमा दर्ता भएको विधेयकमा ओली सरकारले ल्याएको अध्यादेशकै निरन्तरता हुने गरी प्रावधान राखिएको छ।

तत्कालीन विपक्षी दलको हैसियतले उक्त अध्यादेशप्रति तीव्र विरोध जनाएको कांग्रेसले राष्ट्रियसभा विधेयक दर्ता गर्दा भने अध्यादेशकै प्रावधानलाई निरन्तता दिएको छ। त्यसप्रति एमाले सांसदहरूले विरोध जनाएका हुन्।

सभामुख आफैँ मुद्दा लिएर सर्वाेच्च गएको विषयविरुद्ध अध्यादेश ल्याएको भन्दै सांसदहरुले आपत्ति जनाइरहेका बेला सभामुख सापकोटाले यसबारे कुनै टिप्पणी नगर्ने बताएका हुन्। यसबारे सभामुखले दर्ता गरेको रिट सर्वोच्चमा अझै विचाराधीन छ।

त्यस्तै, सभामुख सापकोटाले नागरिकता, निजामती विधेयक पारित गर्न संसद्ले जोड दिइरहेको बताए ।