एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा


ग्लोब नेपाल
3.3k
Shares

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएका हुन् । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ । पोखरेलले एआइजी पूजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् । पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।

आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै पोखरेल आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्चले पोखरेलसहित महानिरीक्षक का विषयमा परेका सबै रिट एकचौटि खारेज गरेको थियो । आफूले हालेको रिट खारेजपछि पोखरेलले पदबाट राजीनामा दिएका हुन् । सिंह महानिरीक्षक भएपछि कार्यालय नटेकी उनी सेवाबाट बिदा भएका छन् ।

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलिपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुगेका थिए । तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो । 

पोखरेल महानिरीक्षकमा बढुवा भएको भए २०७९ चैतसम्म प्रहरी सेवामा रहन्थे । तर, सिंह आईजीपी बनेपछि पोखरेल एआइजीको उमेर हदका कारण आगामी २० गतेबाट अनिवार्य अवकाशमा जाँदै थिए । त्यस अघि नै उनले राजीनामा दिएर बाहिरिएका हुन् ।