दुई न्यायाधीशलाई बर्खास्त गर्न न्याय परिषद्‌को सिफारिस

दुई न्यायाधीशलाई बर्खास्त गर्न न्याय परिषद्‌को सिफारिस


ग्लोब नेपाल
594
Shares

काठमाडौं । न्याय परिषदले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।

सोमबारको न्याय परिषदको बैठकले उच्च अदालत दिपालयको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेश कुमार निधि र काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

न्यायपरिषदको सिफारिसलाई कामु प्रधानन्यायाधीशले सदर गरेपछि उनीहरु बर्खास्तीमा पर्नेछन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार दुवैजना न्यायाधीशहरूको खराब आचरण र कार्यक्षमता अभावका कारण पदमुक्त गर्नका लागि सर्वोच्च अदालतमा लेखी पठाउने निर्णय गरिएको हो।

निधि उच्च अदालत राजविराज इजलासमा हुँदा र शर्मा सिरहा जिल्ला अदालतमा हुँदा गरेका फैसलाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा उक्त निर्णय गरिएको प्रवक्ता कार्कीले बताए।

यसअघि पनि समितिले ३ न्यायाधीशलाई बर्खास्तीको सिफारिस गरेको थियो भने एक जनालाई सचेत गराएको थियो। कार्यसम्पादनमा कैफियत तथा खराब आचरण देखिएका न्यायाधीशमाथि परिषद् पछिल्लो समय आक्रामक देखिएको छ।