राप्रपाका चार नेताद्वारा पार्टी परित्याग

राप्रपाका चार नेताद्वारा पार्टी परित्याग


ग्लोब नेपाल
81
Shares

काठमाडौं । स्पष्टीकरण सोधिएका ४ जना नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्यागको घोषणा गरेका छन्।

मंगलबार चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी रहेका छन् ।

चार नेतालाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको भन्दै यस्तो अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएको उल्लेख गरेका छन् ।

‘आन्तरिक प्रजातन्त्रको चीरहरण भएको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नभएकाले आजका मितिदेखि हामी साधारण सदस्यसमेत नरहने गरि अलग भएका छौं,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरूले मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता बढेर गएकाले यो अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।