प्रचण्डले भने: विचार मिल्नेहरू बीचमा एकताको सम्भावना बारे छलफल भयो

प्रचण्डले भने: विचार मिल्नेहरू बीचमा एकताको सम्भावना बारे छलफल भयो


ग्लोब नेपाल
756
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकालीन बहुमत सदस्यहरूबीच पार्टी एकीकरणसहितका विषयमा कुरा भएको बताएका छन्।

सिंहदरवारमा भएको तत्कालीन नेकपामा पाँच सचिवालय सदस्यको छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धनलाई कायमै राखेर तत्कालीन नेकपाको बहुमत पक्ष एकतामा जानेबारे छलफल भएको बताए ।

‘हामी नेकपाकालका सचिवालयका बहुमत सदस्य छौं । आज दोस्रो बैठक बस्यौं । अहिले सबै पार्टीले आफ्ना निर्णय गरेका छन् । कांग्रेस र एमालेका निर्णयबारे पनि छलफल भयो’, प्रचण्डले भने, ‘गठबन्धनलाई कायम राखेर जानुपर्छ भन्नेमा कसैको विमती छैन । कसरी प्रभावकारी बनाउने भन्ने बारेमा चर्चा भइरहेको छ । स्थानीय तह निर्वाचनको अनुभव पनि लिएर कसरी जाने भन्ने । विचार मिल्नेहरूको बीचमा एकताको सम्भावना बारे छलफल भइरहेको छ ।’

अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धनको विपक्षमा नजाने समेत प्रष्ट पारे । सकेसम्म वामपन्थी दलहरूबीच कसरी एकता गरेर जाने भन्ने छलफल भएको उनले बताए ।

प्रचण्डले संघीय संसद् सचिवालय सिंहदरबारमा मंगलबार तत्कालिन नेकपाका सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए ।

यसअघि मंगलबार नै प्रचण्डले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि छलफल गरेका थिए ।