देशलाई लयमा फर्काउन निर्वाचनपछि एमालेको सरकार बनाउनुपर्ने छ: ओली

देशलाई लयमा फर्काउन निर्वाचनपछि एमालेको सरकार बनाउनुपर्ने छ: ओली

'चुनाव मंसिरमै हुनुपर्छ, तलमाथि गर्न दिनु हुँदैन'


ग्लोब नेपाल
513
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले सरकारमा फर्किनुपर्ने भन्दै त्यसको तयारी गर्नका लागि कार्यक्षेत्रमा जुट्न पार्टीपंतिलाई निर्देशन दिएका छन् ।

एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारले उत्पन्न गरेको दुरावस्थाबाट जनतालाई मुक्ति दिनु आवश्यक रहेककाले पनि नेकपा एमाले सरकारमा फर्किनुपर्ने बताए । ‘देशको समृद्धिको विकासको जुन लय समातेको थियो, त्यस लयलाई फेरि प्राप्त गर्ने र अगाडि बढाउने, बाटोमा लान सक्ने त्यस्तो सरकारको गठन आगामी निर्वाचनबाट गर्नुपर्ने छ,’ उनले भने, ‘यी उद्देश्य प्राप्त गर्ने गरी हामी अगाडि बढ्नुपर्ने छ ।’

उनले अहिलेको सरकारले उत्पन्न गरेको दुरावस्थाबाट जनतालाई मुक्ति दिनु आवश्यक रहेको बताए । ‘श्रीमती अघि सार्ने, सालो अघि सार्ने र पार्टीका नाममा केही व्यक्तिले लुट मच्चाउने काम गरिरहेका छन् । यो अवस्थाबाट मुक्ति दिन जरुरी छ,’ ओलीले भने ।

ओलीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आगामी मंसिरमा हुनैपर्ने पनि बताए । ‘आगामी मंसिरमा चुनाव गराउनुपर्छ। यसलाई तलमाथि हुन दिनु हुँदैन’, उनले भने, ‘यसबीचमा दैनिक भ्रष्टाचारका घटना बढिरहेका छन्। यीविरुद्ध एमालेपंक्तिले लड्नुपर्छ।’

उनले सरकार दमनकारी ढंगले ओर्लिएको बताउँदै त्यसको प्रतिकार गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।