केपी ओलीकै कारण नेकपा सकियो, एमाले पनि फुट्यो: माधव नेपाल

केपी ओलीकै कारण नेकपा सकियो, एमाले पनि फुट्यो: माधव नेपाल


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा फुटाउन केपी शर्मा ओलीको हात रहेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले नेकपालाई केपी ओलीले एकलौटी रूपमा कम्पनीझैं गरी चलाउन खोजेपछि आफूहरू एकठाउँमा बस्न नसकेको बताए।

‘हामीले विद्रोह गरेर आएका हौँ। नयाँ पार्टी बनाएर कमिटी बनिनसकेको अवस्थामा हामी निर्वाचनमा गयौँ’, अध्यक्ष नेपालले भने, ‘ओलीका कारण कमरेड भन्नेहरु जति पाखा लागेर गए। पार्टीमा समस्या आए। पार्टीका बैठक बस्नै सकेनन्। बहुमत पुग्दैन कि भनेर बस्न छाडे। पार्टी चल्नै नसक्ने अवस्थामा पुगिसकेपछि पार्टीभित्र बस्न नसक्ने अवस्था भएपछि विद्रोह गर्यौँ।’

अध्यक्ष नेपालले एमाले ब्युँतिएपछि पनि आफूहरुलाई कारबाही गरेर निकाल्ने प्रयत्न थालिएको बताए। ‘हामीले त्यतिबेलै एमाले कम्युनिष्ट पार्टी रहेन, राजा महाराजाको जस्तै भयो भन्ने ठान्यौँ। अनि समानान्तर गतिविधि थाल्यौँ’, उनले भने, ‘ओली पद छाड्नै नसक्ने, प्रधानमन्त्रीको कुर्सी ताकेको भन्दै कुर्सी नै भाँच्न खोजे। त्यहीकारण नेकपा सकियो, एमाले पनि फुट्न पुग्यो। हामी विद्रोह गरेर यहाँसम्म आइपुगेका छौँ।’

नेकपा विभाजनको प्रमुख कारण संसद विघटन पनि भएको उनले बताए। अध्यक्ष नेपालले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग गर्ने सर्वोच्च अदालतको फैसला गलत भएको बताए ।