काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउने प्रयासमा अवरोध बन्दा गभर्नर महाप्रसाद अधिकारीमाथि आक्रमण भइरहेको आरोप लगाएका छन्।
बुधबार अनलाइन सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा महासचिव पोखरेलले एम अधिकारीबारे पार्टी र स्वयं गभर्नर अधिकारीले प्रस्ट पारिसक्दा पनि आक्रमण नरोकिनु त्यसकै श्रृंखला भएको टिप्पणी गरेका हुन् । ‘एम अधिकारीबारे पार्टी र गभर्नर स्वयंले होइन भन्दा पनि जुन तरिकाले उचाल्ने काम भइरहेको छ, यो कालो धनलाई सेतो बनाउने श्रृंखला हो,’ महासचिव पोखरेलले भने, ‘गभर्नरलाई असफल बनाएर वित्तीयरुपमा देशलाई श्रीलंकाको बाटोतर्फ लैजानु हो ।’
महासचिव पोखरेलले गठबन्धनका कारण देशमा आर्थिक संकट आएको पनि आरोप लगाए । उनले संघीयताका कारण नभइ गठबन्धनका कारण आर्थिक संकट आएको जिकिर गरे। ‘हामीले बनाएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी नै हाम्रो हो’ उनले भने, ‘अहिलेको आर्थिक संकटको कारण संघीयता होइन, पाँच दलीय गठबन्धन हो। संघदेखि प्रदेशसम्म मन्त्रीको ओइरो लगाएर संघीयतामाथि गठबन्धनले प्रश्न उठाउने अवस्था ल्यायो।’
महासचिव पोखरेलले एमालेले आफ्नो नीतिअनुसार अन्य दलसँग सहकार्य गर्ने पनि स्पष्ट पारे।
प्रतिक्रिया