एसईईको नतिजा यही साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

एसईईको नतिजा यही साताभित्र सार्वजनिक गर्ने बोर्डको तयारी


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही साता भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

बोर्डका अनुसार यसअघि साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ताका लागि धकेलिएको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले शुक्रबारसम्म एसईईको नतिजा सार्वजनिक गरिने बताए ।

उनले विगतका वर्षहरुमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुःख पाउने गरेकाले नतिजाअघि नै अधिकतम जाँच गर्न लागिएको जानकारी दिए । ‘रुजुको काम नसकिएर केही दिन लम्बियो,’ उनले भने, ‘शुक्रबारसम्म विद्यार्थीले नतिजा हात पार्छन ।’

यता, बाेर्ड स्राेतका अनुसार मंगलबारसम्म रुजु गर्ने काम सकेर बोर्ड बैठक डाक्ने आन्तरिक तयारी रहेको छ । बोर्डको बैठकले रुजु र तयारीका विषयमा जानकारीसहित विविध कारणले रद्द गर्नुपर्ने परीक्षार्थीको जिषयमा निर्णय लिनेछ । त्यसपछि दोस्रो बैठक बसेर नतिजा सार्वजनिकको निर्णय हुन्छ ।

यसपटक ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् । त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।