तलब वृद्धिले छोएन ४० हजार विद्यालय कर्मचारीलाई

तलब वृद्धिले छोएन ४० हजार विद्यालय कर्मचारीलाई


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरे पनि विद्यालय कर्मचारीलाई भने तलब वृद्धिले छुन सकेको छैन ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक लगायतका सबै सरकारी कर्मचारीको तलब वृद्धि हुने भनिए पनि विद्यालय कर्मचारी यसमा समेटिएका छैनन् ।

अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई पठाएको पत्रको आधारमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक गरेको छ । शिक्षकहरूको तलब वृद्धि गरिए पनि विद्यालय कार्यालय सहयोगी र लेखापालको तलबको विषय त्यसमा उल्लेख छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिकामा बाल विकास शिक्षकको पारिश्रमिक ८ हजारबाट बढाएर १० हजार बनाइएको छ । विद्यालय सहयोगीले ८ हजार र विद्यालय सहायक कर्मचारी (लेखापाल) ले मासिक १३ हजार ५०० रूपैयाँ तलब पाउँदै आएका छन् । बाल विकास शिक्षकको तलब २ हजारले बढे पनि विद्यालय सहयोगी र लेखापालको तलब भने बढेको छैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने अर्थ मन्त्रालयबाट पठाएको परिपत्रको आधारमा कार्यक्रम कार्यान्वयन पुस्तिका तयार पारिएको बताएको छ । केन्द्रका तथ्यांक अधिकृत जनार्दन न्यौपानेले अर्थ मन्त्रालयबाट आएको परिपत्रलाई कार्यान्वयन गर्न लागिएको बताए ।

‘अर्थ मन्त्रालयबाट त्यही अनुसार परिपत्र आयो । अर्थले बढाएर पठायो भने हामी त कार्यान्वयन गर्ने निकायमात्र हो,’ न्यौपानेले भने । यस विषयमा शिक्षा मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल जारी राखेको जनाएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले तलब वृद्धिको विषयमा अर्थ मन्त्रालयले हेर्ने बताए ।

सरकारले बजेट भाषणमार्फत तलब वृद्धि घोषणा गरे पनि आफूहरूमा लागू नभएको भन्दै देशभरका ४० हजारभन्दा बढी विद्यालय कर्मचारी रुष्ट बनेका छन् । उनीहरूले आन्दोलन नै घोषणा गरेका छन् ।