पोखरा । पोखराको लेकसाइडमा मध्यराति ग्याङ फाइट गर्ने पाँच जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ स्थित स्ट्रिट नम्बर १६ मा मंगलबार राति साढे १२ बजे दुई समूहबीच झगडा तथा कुटपिट भएको थियो ।
घटनाबारे सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली पुगेको थियो । प्रहरीले झगडामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गर्न खोज्दा उनीहरूले प्रहरी कर्मचारीमाथि नै अभद्र व्यवहार गरेका थिए ।
त्यसपछि प्रहरीले पोखरा–१४ चाउथे निवासी निरज शर्मा, विराज अधिकारी, टुकबहादुर गुरुङ, मनोज पुन र स्याङ्जाको हरिनास गाउँपालिका–४ निवासी सन्दीप थापालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थप गरिएको छ ।


प्रतिक्रिया