१ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

१ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

स्थानीय तहमा खटिएकालाई सोझै भर्ना होला ?


ग्लोब नेपाल
486
Shares

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । मन्त्रिपरिषद्ले मंसिर ४ मा निर्वाचनको मिति घोषणा गरेको छ ।

मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सबै कारागारमा मतदान केन्द्र रहने हुनाले म्यादीको संख्या बढाउनुपर्ने प्रहरी अधिकारीहरूले बताएका छन् ।

प्रहरी प्रधान कार्यालयले १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव बनाएर गृह मन्त्रालयमा बुझाउने तयारी गरेको छ । गृहको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएपछि म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिन्छ ।

मतदान स्थल र केन्द्र थपिने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा धेरै म्यादी प्रहरी चाहिने प्रहरी ​ प्रवक्ता (डिआइजी) टेकप्रसाद राईले बताए ।

स्थानीय तहको निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई सोझै भर्ना गर्नेबारे पनि छलफल भइरहेको छ । स्थानीय तहमा खटिएकाहरूलाई प्रशंसापत्र सहित आए सिधै भर्ना गर्नेबारे छलफल भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए ।