‘जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँ’: ओली

‘जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँ’: ओली


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजले स्वदेशी विद्वान र लेखकलाई भन्दा विदेशी लेखकका विचार तथा लेखलाई बढी महत्व दिने गरेको टिप्पणी गरेका छन् ।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्।

उनले नेपालीले लेखेका तथ्यपूर्ण र तर्कसंगत विचारलाई समेत पर्याप्त महत्व नदिने प्रवृत्ति रहेको बताए । नेपाली समाजमा विदेशी लेखकप्रतिको आकर्षण र आफ्नै देशका लेखक तथा चिन्तकलाई कम महत्व दिने प्रवृत्ति चिन्ताजनक रहेको उनको भनाई छ ।

उनले आफूले नेपाली लेखकहरूसँग बसेर छलफल गर्ने कार्ययोजना रहेको पनि सुनाए । छिट्टै नै नेपाली लेखक तथा चिन्तकहरूसँग बसेर छलफल गर्ने उनको भनाई छ ।

उनले भने, ‘हामी आफूकहाँ भएका विद्वान् त्यत्ति चिन्दैनौँ । सम्भवतः तपाईँहरूले आफ्ना ग्रन्थहरूमा नेपालीले लेखिएका कुराहरूको उदाहरण कमै गर्नुभएको होला, विदेशीकै उदाहरण गर्नुभएको होला । किनभने नेपालीले लेखेकोलाई त्यत्ति विद्वान हामी ठान्दैनौँ, त्यसकारण उदाहरण गरिरहनुपर्ने आवश्यकता पनि देख्दैनौँ । जतिसुकै विद्वान् किन नहोस्, जतिसुकै तर्कपूर्ण तथ्यपूर्ण नहोस्, तर हामी विद्वान् लेखकहरू अलिक बाहिरकै ठान्छौँ ।’

ओलीले नेपाली समाजले आफ्नै ज्ञान, दर्शन, साहित्य र बौद्धिक योगदानको पहिचान गर्नुपर्नेमा जोड दिए। स्वदेशी लेखकका रचनालाई अध्ययन र सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने प्रवृत्ति विकास गर्नुपर्ने उनको भनाई छ ।