कोलोराडोमा सामूहिक दर खाने कार्यक्रम सम्पन्न (फोटोफिचर)

कोलोराडोमा सामूहिक दर खाने कार्यक्रम सम्पन्न (फोटोफिचर)



कोलोराडो । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी महिला दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक रुपमा दरखाएका छन् ।

प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस नहोस् र बर्षमा एक दिन भए सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै, माईतीको झल्को मेटाउन तिज कार्यक्रम आयोजना गरिएको हो ।

कोलोराडोमा सकृय संस्था दिदी बहिनी समुह कोलोराडोको आयोजनामा दिदी बहिनीहरुले घर घरबाट मीठा परिकारहरु बनाएर ल्याई एकै ठाउमा जम्मा भई परंपरागत शैलीमा गीत गाएर नाच्दै सामुहिक दरखाने कार्यक्रम सम्पन्न गरेका हुन् । कोलोराडो स्थित बेष्टमिनिष्टर सिटीमा सम्पन्न कार्यक्रममा बोल्डर, लङमन्ट, ब्रुमफिल, डेनवर्ग, अरोरा, वेस्टमिनिष्टर लगायतका शहरहरुबाट महिला दिदी बहिनिहरु नेपाली पहिरन रातो साडी ,चोलो , चुरा, धागो र बिभिन्न परंपरागत गहनामा सजिएर उपस्थित भएका थिए । कार्यक्रममा स्थानिय केही महिला दिदी बहिनीहरु पनि नेपाली चेलो साडीमा सजिएर कार्यक्रममा उपस्थित भएका थिए ।

परंपरागत भाका र शैलीमा गीत गाउदै मादलको तालमा छम छम नाचिरहदा आफुलाई नेपाली भुमीमा बसेर तिजको रमाईलो हेरिरहेको महसुस हुन्थ्यो । परंपरागत रुपमा दर खाने परिकारहरु खीर, सेलरोटी, दही, कांक्रोको अचार जस्ता स्वादिष्ट परिकारहरु खादै साथीहरु संग नाच्दै, गाउदै, तिजको शुभकामना साटासाट गर्दै , उनीहरुले तिजको दरखाने कार्यक्रम सम्पन्न गरेका हुन् ।

साँझ ४ बजे देखी राती १० बजे सम्म संचालन भएको कार्यक्रममा बाल बालिका देखि बृद्ध बृद्धा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यावसायी, सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न नमस्ते प्लमीङ, चाम गुरुङ, कन्चन प्रशाई लगायतका दाताहरुले आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रमलाई थप आकर्षण तुल्याउन राफल चिट्टाको ब्यावस्था पनि गरिएको थियो । केही समय अगाडी प्रकाश सपुतको कार्यक्रममा खोलिने घोषणा गरिएको राफल चिट्टा समय अभावको कारण उक्त कार्यक्रममा नखोली आजको कार्यक्रममा खोली बिजेताहरुलाइ बितरण गरिएको थियो ।

बिगत केही बर्ष अगाडी देखि नियमित रुपमा तिजको कार्यक्रम आयोजना गर्दै आएको यस संस्थाका संयोजक धन पौडेलले यस्ता कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचाहन तथा संरक्षणमा टेवा पु¥याउने बताइन् । उनले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने दिदी बहिनी लगायत उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुने सबैलाई धन्यबाद दिईन् ।