प्रदीप दाइ ! कसरी लेखु श्रद्धाञ्जली !?

प्रदीप दाइ ! कसरी लेखु श्रद्धाञ्जली !?



समाजमा संधैं सकारात्मक ऊर्जा प्रवाह गर्ने समकालीन नेपाली राजनीतिमा उच्चस्तरको बौद्धिक बहस प्रस्तुत गरी तमाम नेपालीहरुको मन जित्नु भएका समाजवादी चिन्तक प्रदीप गिरीले देहत्याग गर्नुभएको छ । उहाँको भौतिक विश्रान्तीमा सिंगो मुलुक र उहाँलाई अति सम्मान र आदर गर्ने देशभित्र र बाहिरको बौद्धिक समाज स्तब्ध भएको छ । चलिरहेको बगिरहेकोभन्दा फरक धारमा बहेर लोकतान्त्रिक शासन व्यवस्था, समावेशिता, समानता र न्यायिक अधिकारका पक्षमा आवाज बुलन्द गर्न सक्ने अद्भूत क्षमता, अध्ययन र ज्ञानले प्रदीप गिरीलाई उच्चासनमा पु-याएको थियो । औपचारिक जिम्मेवारिमा नरहेर यति धेरै सम्मानित व्यक्ति विरलै पाइन्छ । उहाँका विचार, धारणा र अभिव्यक्तिले सिंगो समाजलाई उत्प्रेरित गरिरहेको हुन्थ्यो । युवा पुस्तालाई आकर्षित गर्ने असाधारण खुबी र क्षमता थियो ।

प्रायः सबै विधामा जानकारी राखेका गिरी सबै राजनीतिक दल, विचार र सिद्धान्तका अनुयायीहरुका आकर्षणका केन्द्रविन्दू हुनुहुन्थ्यो । प्राणघात क्यान्सरले ग्रस्त बनाएर प्रतिपक्षको सिंगो आवाजलाई छिनेर लग्यो । संसद, प्रतिपक्षको सिंगो आवाजलाई छिनेर लग्यो । संसददेखि सडकसम्म, देशभित्र र बाहिर नेपालको आवाज, समाजवादको दर्शन, आवश्यकता र औचित्यका बारेमा स्पष्ट अवधारणा राख्न सक्ने अद्भूत क्षमताका धनी गिरीको निधनले सर्वत्र अपूरणीय क्षति भएको महसुस गरिएको छ । सबै वर्ग, क्षेत्र र समुदायका मानिस सामाजिक सञ्जालमार्फत् स्वर्गीय गिरीसँगको सामिप्यता र सहृदयता प्रस्तुत गरिरहेका छन् । नेपाली राजनीति दिनप्रति दिन विकृत बन्दै गएको अवस्थाप्रति कटाक्ष गर्न सक्ने अति दुर्लभ व्यक्तिहरुमध्ये गिरी अग्रस्थानमा हुनुहुन्थ्यो ।

आफ्नै पार्टीभित्र गिरीले निर्वाहा गर्नुभएको प्रतिपक्षको भ्रमिका उन्नत लोकतान्त्रिक संस्कार र संस्कृतिको अनुपम नमुना थियो । उहाँसँग कसैले पनि विमति राख्न सकेको थिएन । जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको घटना र सन्दर्भलाई पाटीभित्र र बाहिर प्रस्तुत गरी राजनीतिक नेतृत्वलाई सचेत बनाउन भूमिका निर्वाहा गर्दा हिजो र आज पनि नियोजित रुपमा बद्नाम गर्न नखोजिएको होइन । तर पनि उहाँ अविचलित रहनु भयो, आफ्नो विचार, धारणा र दृष्टिकोणमा कुनै परिवर्तन आउन दिनु भएन । आफूलाई प्रमाणित गराएर सादा र सरल जीवन जिउन सकिन्छ भन्ने सन्देश दिएर जानुभएको छ । त्यो बाटोमा अगाडि बढ्न कति कठिन हुन्छ भन्ने महसुस गर्दा पनि आङ जिरिङ गर्छ । यसको अर्थ उहाँसँग नभएर होइन, प्रशस्त भएर पनि सामान्य जीवनयापन गर्ने गिरीको व्यवहार असाधारण नै हो ।

स्वर्गीय गिरीको विचार, आदर्श र अभिव्यक्तिबाट नेपाली समाज निर्देसित होस् । राज्य व्यवस्थाले सकरात्मक बाटो समातोस् । नैतिकता र इमान्दारिताको पुनर्वहाली होस् ।

नेपाली कांग्रेसभित्र बहस र छलफल हुँदा उहाँले बीपी कोइरालासँग पनि सिधा संवाद मात्र गर्नु भएन असहमति पनि दर्ज गर्नु भएको थियो भन्ने उहाँका विचार र अभिव्यक्तिबाट मात्र होइन, समकालीन व्यक्तित्वहरुबाट पनि पुष्टि भएको छ । बीपी कोइरालाको व्यक्तित्व, अध्ययन र बौद्धिकताका अगाडि धेरै मानिस पुड्के सावित भएका छन् । तर गिरीले कोइरालासँग आमने सामुन्ने भएर संवाद, छलफल, बहस र असहमति राखी लोकतान्त्रिक संस्कार परिचय र भूमिका निर्वाह गर्नुभएको हो । यसले पार्टी र विचारलाई जीवन्त बनाउन ठूलो सहयोग पुर्‍याएको छ । यसअर्थमा पनि गिरी अब्बल बौद्धिक व्यक्तित्व हो भन्ने प्रमाणित गर्दछ ।

त्यतिमात्र होइन, उहाँले नेपालका कम्युनिष्टहरुलाई मार्क्सवादको क्लास नै लिनु भएको छ, प्रशिक्षण दिनुभएको छ, कांग्रेस नेताको रुपमा परिचित र स्थापित गिरीले नेपालका कम्युनिष्टहरुलाई मार्क्सवादको सिद्धान्त र मान्यताका बारेमा प्रशिक्षण दिनु सामान्य घटना होइन । कुनै कम्युनिष्ट नेता र विद्वानले नेपाली कांग्रेसको कार्यक्रममा आएर लोकतान्त्रिक शासन व्यवस्थाका बारेमा प्रशिक्षण दिनसक्छ ? त्यो कल्पना पनि गर्न सकिँदैन । तर कांग्रेस नेता गिरीले पार्टी अनुशासनभित्र रहेर आफ्ना अध्ययन र बौद्धिक अभ्यासबाट प्राप्त ज्ञानको उच्चतम प्रयोग गरी स्वतन्त्र व्यक्तित्वको परिचय दिनुभएको छ । यसले उहाँको मात्र लोकतान्त्रिक विचार पद्धतिको नै विस्तार गरेको छ, त्यसको मौलिक चरित्र प्रस्फुटन गरेको छ । यस्ता असाधारण कार्यहरु स्वर्गीय गिरीबाट कति भएका छन् कति, जसको लेखाजोखा आगामी पुस्ताले गर्ला नै ।

एउटा कुरा निश्चित छ कि स्वर्गीय गिरीको अभाव नेपाली समाजमा लामो समयसम्म खड्किरहने छ । त्यो स्तरको प्राज्ञिक हस्तक्षेप गर्न सक्ने राजनीतिक व्यक्तित्वको विकास नै भएको छैन । त्यो ज्ञान, विवेक र जानकारी भएको, अभ्ययन अनुसन्धान र स्पष्टता भएको, त्यति धेरै वृहत स्वीकार्यताको फराकिलो दायरा, बनाएको व्यक्तित्व नेपाली समाजले छिट्टै पाउला जस्तो छैन । पार्टीमा गुट होइन, गिरोह सक्रिय छ भन्ने गिरीको अभिव्यक्ति आज कति सान्दर्भिक छ ? त्यो कुनै दल विशेषमा मात्र होइन, सबै पार्टीको विशेषता बन्दै गएको छ । यस्तो धरातलीय यथार्थतामा गिरी मात्र होइन धेरै मानिसले निर्मम हस्तक्षेप गर्नुपर्ने थियो ।

तर नियतिले गिरीलाई पनि छोडेन । जो अली समय रहनुपथ्र्यो, उसलाई छिन्ने देवैको लीला हेर्दा कतै सतीले सरापेकै हो कि जस्तो लाग्छ । सान्दर्भिक व्यक्तित्व समाप्त हुने तर, असान्दर्भिक र असफलले निरन्तर राज्य व्यवस्थाको बागडोर समालिरहने चक्र नेपालमा मात्र हो कि अन्यत्र पनि चल्छ ? जो व्यक्ति देश र समाजको लागि आवश्यक छ, उसलाई यस्तै रोगले लैजाने तर अनावश्यक व्यक्तिहरुले यो वा त्यो गठबन्धनको नाउँमा शासन सत्तामा निरन्तरता पाइरहने अवस्थाले धेरैलाई निराश बनाएको छ । यो निर्वाचनबाट ऊ निर्वाचनसम्म मात्र देख्नेहरुको भिडमा गिरीले प्रस्तुत गर्ने दूरदर्शीता हाम्रो हावापानी र राजनीतिले पनि स्वीकार गरेन कि !? आश्चय लाग्छ नहुनु पर्ने हुने, हुनुपर्ने नहुने ! स्वर्गीय गिरीको विचार, आदर्श र अभिव्यक्तिबाट नेपाली समाज निर्देसित होस् । राज्य व्यवस्थाले सकरात्मक बाटो समातोस् । नैतिकता र इमान्दारिताको पुनर्वहाली होस् । नेपाली समाजले स्वर्गीय प्रदीप दाइको जस्तै प्रतिपक्षीय भूमिका निर्वाहा गर्न सकोस् । प्रदीप दाइप्रति सम्मानपूर्ण श्रद्धाञ्जली !