‘अमेरिकन आइडल’ पोखरेल विश्व सद्भावना दूत नियुक्त

‘अमेरिकन आइडल’ पोखरेल विश्व सद्भावना दूत नियुक्त


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावनादूत नियुक्त गरेको घोषणा गरेका हुन् । कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान दिएकोले पोखरेललाई सम्मान गरिएको थियो। पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत घोषणा गर्न पाउँदा खुसीको लागेको बताउँदै मन्त्री श्रेष्ठले आफ्नै प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

काठमाडौँको रवि भवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा सन् २०१४ मा अमेरिका पुगेका पोखरेल ‘अमेरिकन आइडल’ को स्टेजमा दमदार उपस्थिति जनाइ लोकप्रिय बनेका थिए । मन्त्री श्रेष्ठले विभिन्न विधामा रहेका नयाँ प्रतिभाहरूले नेपाललाई विश्वमै नयाँ पहिचान दिन सफल भएको बताए ।

विश्व सद्भावना दूत नियुक्त भएपछि पोखरेलले संगीत मार्फत नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।