श्रमिकका गुनासा श्रममन्त्री आफैंले सुन्ने

श्रमिकका गुनासा श्रममन्त्री आफैंले सुन्ने

विदेश पठाउछु भनेर म्यानपावर व्यवसायीले ठगेका, श्रम स्वकृति विना विदेश गएका, विदेशमा मृत्यु भएका आफन्तको शव नेपाल ल्याउन गाह्रो भएको गुनासो बढी


ग्लोब नेपाल
243
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा जाँदा समस्या परिहाले गुनासो कसलाई सुनाउने भन्ने चिन्तामा हुनुहुन्छ भने अबदेखि तपाईको गुनासो सुन्न श्रममन्त्री आफैँ तयार छन् ।

वैदेशिक रोजगारीका लागि स्वदेशमा होस वा विदेशमा, तपाईंलाइ समस्या परेको छ भने सिधै श्रममन्त्रीलाइ गुनासो सुनाउन सक्नुहुनेछ । त्यसका लागि श्रममन्त्री शेरबहादुर कुँवरले हरेक आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म तपाईंहरुको गुनासो सुन्ने छन् ।

मन्त्री कुँवरले हिजो आइतबार वैदेशिक रोजगारमा समस्या व्यहोर्नु परेका ९ जनाको गुनासो सुनेर सम्बोधन गरे । विदेश पठाउछु भनेर म्यानपावर व्यवसायीले ठगेका, श्रम स्वकृति विना विदेश गएका, विदेशमा मृत्यु भएका आफन्तको शव नेपाल ल्याउन गाह्रो भएको गुनासो बढी आएको मन्त्री कुवरले जानकारी दिए ।

पीडितहरुको गुनासो सुनेपछि उनीहरुको समस्या समाधान गर्न केही कानूनी अप्ठ्यारो रहेको मन्त्री कुँवरको भनाइ थियो । पीडितहरुको गुनासाको सम्बोधन गर्न सम्बन्धित निकायसँग सहकार्य गरेर मन्त्रालयले काम गर्ने उनको भनाई थियो ।

विदेश पठाउने नाममा दलालहरुबाट ठगिएकाहरुको गुनासो यसअघि पनि सुनिदै आएको भए पनि मन्त्रीले नै सिधै गुनासो सुन्न शुरु गरेको यो पहिलो पटक हो । यसअघि मन्त्रालयको कल सेन्टरमा दैनिक २ सय भन्दा बढी गुनासो आउने गरेको मन्त्रालयको तथ्याङक छ ।