गुल्मीमा गठबन्धनका अगाडि एमाले वर्चश्व निरीह

गुल्मीमा गठबन्धनका अगाडि एमाले वर्चश्व निरीह

स्थानीय निर्वाचनमा वडामा प्राप्त मतलाई विश्लेषण गर्ने हो भने पनि गठबन्धनका अगाडि गुल्मीबाट एमालेको किल्ला तोडिने निश्चित जस्तै छ ।



काठमाडौं । नेपाली कांग्रेस र एमाले मात्रै भएको जिल्ला कुन हो भनेर खोज्ने हो भने गुल्मीको नाम लिँदा फरक पर्दैन । अरु राजनीतिक दलको अस्तित्व नै नभएको भने होइन, तर उनीहरुको उपस्थितिले राजनीतिक फेरबदलमा कुनै असर छाड्दैन ।

दुई निर्वाचन क्षेत्र, दुई नगरपालिका र १० गाउँपालिका भएको गुल्मीको स्थानीय तह निर्वाचनमा ५ कांग्रेस, ४ माओवादी र ३ वटा एमालेले जितेका छन् । तर, वडा तहको मत गणना गर्ने हो भने क्षेत्र नं. १ मा ३५ हजार ७ सय १ एमालेको मत । त्यसपछि कांग्रेसको ३१ हजार २ सय ९४ मत छ भने ४ हजार ९ सय ७० मत माओवादी केन्द्रको छ । १ हजार ६ सय मत राष्ट्रिय जनमोर्चा र ४ सय ९७ मत नेकपा (समाजवादी) को छ ।

यसैगरी क्षेत्र नं. २ मा पनि एमाले नै अगाडि देखिएको छ । एमालेसँग ३१ हजार २ सय ५३ मत छ । त्यसैगरी कांग्रेससँग २९ हजार ८ सय २१ मत, माओवादीसँग १ हजार ८ सय ४१ मत र नेकपा (समाजवादी) सँग ६ सय ५८ मत र राप्रपासँग १ सय १ मत रहेको तथ्यांकले देखाउँछ ।

रमाइलो त के छ भने चारवटा गाउँपालिकामा अध्यक्ष जितेको माओवादी केन्द्रले उसले जितेको ४ वटा पालिकाको ३ वटा वडामा मात्र विजयी भएको छ । चन्द्रकोट गाउँपालिकाको वडा नं. १ मा घनश्याम खरेल, मालिका गाउँपालिकाको वडा नं. ३ मा ज्ञानकुमार बुढामगर र रुरुक्षेत्र गाउँपालिकाको वडा नं. ५ मा हरिप्रसाद ज्ञवाली मात्रै निर्वाचित भएका छन् । एमालेले अध्यक्ष जितेको सत्यवती गाउँपालिकाको वडा नं. ३ मा जीतबहादुर त्रामु मगर विजयी भएका छन् ।

समग्रमा विश्लेषण गर्दा ८७ वटा वडा भएको गुल्मीमा ४७ वडा कांग्रेसले जितेको छ भने ४० वडामा एमाले विजयी भएको छ । जिल्लाभरिमा माओवादीले ४ वडा मात्र जितेको छ भने चन्द्रकोट–२ मा स्वतन्त्र उम्मेदवार कमल केसी विजयी भएका छन् ।

संघीय निर्वाचनमा एमालेले नयाँ अनुहारको उम्मेदवार ल्याउने सम्भावना न्यून छ । एमाले उपमहासचिव प्रदीप ज्ञवाली क्षेत्र नं. १ बाट र सचिव गोकर्ण विष्ट क्षेत्र नं. २ बाट चुनाव लड्ने निश्चितजस्तै छ । अघिल्लो निर्वाचनमा ज्ञवालीले कांग्रेस उम्मेदवार चन्द्र भण्डारीलाई पराजित गरेका हुन् भने विष्टले चन्द्र केसीलाई पराजित गरेका थिए ।

ज्ञवाली क्षेत्र नं. १ बाट २०५१, ०५६ र ०७४ मा निर्वाचित भएका थिए भने विष्ट क्षेत्र नं. २ का लोकप्रिय नेतामा पर्छन् । उनी २०५१ सालदेखि लगातार त्यस क्षेत्रबाट निर्वाचित सांसद हुन् । तर पहिलो संविधानसभाको निर्वाचनमा उनी माओवादीका उम्मेदवार चन्द्रबहादुर थापासँग पराजित भएका थिए । गत निर्वाचनमा पनि उनले कांग्रेस उम्मेदवार चन्द्र केसीभन्दा १४ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् ।

यो परिवेशमा गठबन्धनबाट कांग्रेसबाहेक अन्य राजनीतिक दलले उम्मेदवार उभ्याउन सक्ने अवस्था देखिँदैन । प्रदेशसभामा अन्य दललाई दिएर भए पनि दुवै क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार अगाडि सार्न सक्छ । कांग्रेसले यसपटक चन्द्र भण्डारीलाई उम्मेदवार बनाउने सम्भावना न्यून छ । उनले रुपन्देही–२ बाट चुनाव लड्ने आकांक्षा राखेका छन् । रुपन्देही–२ बाट एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित भएका थिए ।

क्षेत्र नं. १ मा यसपटक चन्द्र केसी उम्मेदवार बन्ने सम्भावना बलियो छ । उनको विकल्प नदेखिएकाले क्षेत्र नं. १ बाट केसी नै उम्मेदवार हुने सम्भावना छ । यो क्षेत्रको प्रदेश (क) बाट माओवादीले सुदर्शन बराल र (ख) मा कांग्रेसले योगराज कँडेल र घनेन्द्र कार्कीमध्ये एकजनालाई उम्मेदवार बनाउने सम्भावना छ ।

क्षेत्र नं. २ मा पूर्वजिल्ला सभापति तथा वर्तमान लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ उम्मेदवार बन्ने सम्भावना छ । तर उनले संघीय निर्वाचनभन्दा पनि प्रदेशमै बढी चासो लिएका छन् । प्रदेशमा चुनाव लडेर मुख्यमन्त्रीमा दाबी गर्ने योजनासहित श्रेष्ठले संघीय निर्वाचनलाई खासै महत्व नदिएको बुझिन्छ । यदि उनी उम्मेदवार बनेनन् भने लुम्बिनी प्रदेश योजना आयोगका सदस्य/ प्रवक्ता डा. दामोदर भुषाल उम्मेदवार बन्ने छन् ।

क्षेत्र नं. २ को प्रदेश (क) बाट कांग्रेसका छन्द पहराइ र भुवन श्रेष्ठमध्ये एकजना उम्मेदवार बन्ने छन् भने (ख) मा माओवादीले चन्द्रबहादुर थापामगरलाई उम्मेदवार बनाउँदैछ ।

कांग्रेसले गतिलो उम्मेदवार दिन नसक्ने भएपछि नेकपा (समाजवादी) की सचिव रामकुमारी झाक्रीले क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् । त्यस क्षेत्रमा उनको पार्टीको पोजिसन चौथो हो । गठबन्धनको बलमा चुनाव जितिन्छ भन्ने आंकलनसहित झाक्रीले उम्मेदवार बन्ने घोषणा गरेकी हुनसक्छ । तेस्रो पोजिसनमा रहेको राष्ट्रिय जनमोर्चाले पनि त्यस क्षेत्रबाट संघीय निर्वाचनमा उम्मेदवार पाउने झिनो सम्भावना छ । यो क्षेत्रबाट कांग्रेसबाहेक अन्य राजनीतिक दलले टिकट पाए एमालेका विष्टलाई चुनाव जित्न सजिलो हुने विश्लेषण गरिएको छ ।

समग्र विश्लेषण गर्दा गुल्मीमा यसपटक एमालेको दादागिरी अन्त्य हुने अनुमान गरिएको छ । गुल्मीबाट सांसद पदका लागि सधै ज्ञवाली र विष्ट मात्रै अगाडि सर्ने भएको हुँदा एमालेभित्रकै अन्तरद्वन्द्व पनि सम्हालिनसक्नु छ । त्यति मात्र होइन स्थानीय निर्वाचनमा वडामा प्राप्त मतलाई विश्लेषण गर्ने हो भने पनि गठबन्धनका अगाडि गुल्मीबाट एमालेको किल्ला तोडिने निश्चित जस्तै छ ।